Lumbini Rise
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया 

तिलोत्तमा -  शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । 

सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रिया कार्यक्रमका सहजकर्ता वन तथा वातावरण निर्देशनालयका महानिर्देशक प्रभात सापकोटाले बिरुवा उमार्ने, रोपण गर्ने, गोडमेल, काट्छाट, हुर्काउने र उमेर पुगेका रुखहरुला कटान गर्ने विधिलाई बन संवर्द्धन प्रणाली भनिन्छ भने । उनले बन संवर्द्धन प्रणाली अन्तर्गत सरपट कटान, छत्र, छनौट र मुना प्रणाली गरी चार प्रकारले गरिने जानकारी गराए ।  

महानिर्देशक सापकोटाका अनुसार सरपट कटान प्रणालीमा समग्र बन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी प्रत्येक वर्ष कुनै एक खण्डमा माउ रुख कटान र नयाँ बिरुवा रोपण गर्ने गरिन्छ भने छत्र प्रणालीमा बिउका लागि उच्च- गुणस्तरका माउ रुख राखेर अरू रुख कटान गर्ने र कटान गरिएको ठाउँमा बिरुवा रोपण गरिन्छ । 

यस्तै छनौट प्रणालीमा परिपक्व रुखहरू कटान गर्ने, साना रुखहरूलाई   हुर्कने वातावरण सिर्जना गर्ने, पतल्याउने र सरसफाइ गर्ने गरिन्छ भने मुना प्रणालीमा विभिन्न प्रजातिका काटिएका रुखबाट पलाउने मुनाहरूको संरक्षण गर्ने गरिन्छ ।

सामुदायिक बनका अध्यक्ष रवीन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका हरिलाल पाण्डे, एमालेका मीनप्रसाद पोख्रेल, जनमुक्ति पार्टीका राधिका श्रीस, सामुदायिक बनका सल्लाहकार टिकानिधि गौतम, पूर्व अध्यक्षहरू केशवराज न्यौपाने, राम गिरी, उमानाथ कँडेल, बनका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलगायतले बन संवर्द्धन  प्रणालीको विशेषता, नीतिगत तथा कानुनी व्यवस्था, यसको आवश्यकता र औचित्यका विषयमा जिज्ञासा राखेका थिए ।  

करिब ४५०० उपभोक्ता रहेको सामुदायिक बन ५८४.६ हेक्टरमा फैलिएको छ भने समग्र बन क्षेत्र मध्य ११८.४२ हेक्टर रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टर वृक्षारोपण खण्डमा विभाजन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update