
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।
वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात अवरुद्ध हुँदै आएको छ। विनयीखोलामा बनाइएको अस्थायी डाइभर्सन पानी पर्नासाथ बगाउँछ । दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा गाडी चलाउनै सकिदैन । विगत चारदिनदेखि यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् ।
बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो ।
सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन्। जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् ।
यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिएका हुन । शुक्रवार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिइन् ।
२०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालले हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको बताए । यो डाईभर्सन अस्थायी तर समस्या स्थायी रुपमा बल्झिरहेको छ ।
सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ ।