
नेपालगन्ज- नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जका बासिन्दाले अत्यधिक गर्मीलाई कसरी अनुभव गर्छन् र त्यसको जोखिम तथा प्रभाव कसरी बुझेका छन् भन्ने विषयमा अध्ययन सुरु गरेको छ ।
त्यसका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले १५ जना स्वयंसेवकलाई तालिम दिएर उपमहानगरमा परिचालन गरेको हो । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर ‘लु’ का बारेमा स्वयंसेवकलाई तालिम दिएर अध्ययन गर्न खटाइएको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बताए।
उहाँले ती स्वयंसेवकलाई ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ सम्बन्धी तालिम दिइएको र उनीहरूले नेपालगन्ज उपमहानगरपालिकाका वडाका विभिन्न समुदायमा पुगी अन्तर्वार्ताको माध्यमबाट ‘लु’ को बारेमा सूचना सङ्कलन गर्ने बताए।
नेपाल रेडक्रस सोसाइटी बाँकेले उक्त तालिमका सहभागीलाई तातो हावाको लहर, रेडक्रस अभियान प्रचारप्रसार र ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ को सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासको माध्यमबाट सिकाइएको जनाएको छ ।
तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विवेक कायस्थ र सृजना देवकोटा तथा नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रह्लाद विश्वकर्मा र झविलाल शर्माले प्रशिक्षण दिनुभएको थियो ।
तातो हावाले हरेक वर्ष नेपालगन्जको जनजीवन अस्तव्यस्त पार्नुका साथै धेरैलाई बिरामीसमेत बनाउने भएकाले यस पटक त्यसबारे अध्ययन गरेर त्यसको परिणाम अनुसार कार्यक्रम र योजना बनाइने नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिजअहमद सिद्धिकीले बताए।
सो अवसरमा सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिका–१४ का वडाध्यक्ष मजहर अली साई, २१ का वडाध्यक्ष राजकुमार साहु, बाँके बागिया उपशाखाका सभापति चित्रबहादुर केसीलगायतको सहभागिता थियो ।