
बुटवल - बुटवल उपमहानगरपालिकाले ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लागू औषध दुर्व्यसन सम्बन्धी राज्यले थप कडा नियम बनाउनु पर्ने बताए । दुर्व्यसनीबाट बालबालिकालाई बचाउन विद्यालय तथा समाजमा दिइने शिक्षाले मात्रै नपुग्ने बताउँदे उनले सबैभन्दा पहिले घरबाट संस्कार सिक्न र त्यसका लागि अभिभावकले वातावरण सिर्जना गर्नुपर्ने बताए ।
पछिल्लो समय बुटवल लागूपदार्थ अवैध ओसारपसारको ट्रान्जिट पोइन्ट बन्दै गएको उल्लेख गर्दै पाण्डेयले त्यस्ता कडा निगरानी र कारोबारमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह समेत गरे । गलत बाटोमा लाग्ने जो कोहीलाई शक्ति र पहुँचका आधारमा छुट दिन नहुने उल्लेख गरे ।
बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको पहिलो पाठशाला घर भएका कारण घरबाटै नैतिक शिक्षा सिकाउन आवश्यक भएको बताइन् । यसैगरी साथी सर्कलबाट पनि बालबालिका तथा युवाहरु दुर्व्यसनमा लाग्ने गरेको बताउँदै उनले गलत व्यक्ति र आचरणबाट सधै सचेत हुनुपर्नेमा जोड दिइन् ।
लागूपदार्थ दुर्व्यसनमा लागेपछि परिवार तथा समाजबाट ताढा हुने मात्र नभई आफ्नो अमूल्य जीवन र त्यसको महत्व पनि गुमाइने भएकाले सचेत हुनुपर्ने उल्लेख गरिन् । बुटवल उपमहानगर खेलकुद बिकास समितिका संयोजक बोनिन पियाको अध्यक्षतमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्र राना, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।