-1751297239.jpg)
बुटवल - लुम्बिनी प्रदेश सरकारकाले गौरवको आयोजनाका रुपमा हेरेको लुम्बिनी प्रादेशिक अस्पतालको २५ प्रतिशत भौतिक प्रगती भएको छ । लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति १६ प्रतिशत पुगेको जनाएको हो ।
पाँच वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न सक्ने गरी तिव्रताका साथ काम गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले बताए । ‘कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ’ उनले भने । अस्पतालका पूराना संरचना हटाउने काम साइट क्लिरियन्सपछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए ।
प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले निर्माणका लागि आउन सक्ने आर्थिक संकटका लागि पनि सम्बन्धित मन्त्रालय, प्रदेश सरकार तथा संघीय सरकारसँग छलफल भैरहेको जानकारी दिए । कुनै पनि योजना अगाडि बढाउँदा सुरुको चरणमा ठूलो आर्थिक भार पर्ने भएपनि त्यसको भार बिस्तारै कम हुनेहुँदा यसको व्यवस्थापनका लागि आगामी दिनमा थप सहज हुँदै जाने अपेक्षा गरिएको उनले बताए ।
अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले समयमै योजना सम्पन्न भएमा जनताले थप सहज स्वास्थ्य सेवा पाउने उल्लेख गरे । अस्पतालको स्तरोन्नती भएपछि स्वास्थ्य क्षेत्रमा यस क्षेत्रमै कायापलट हुने भन्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्नु बुटवलबासीको दायित्व भएको बताए ।
अस्पतालको भवन निर्माणसँगै यसमा प्रयोग हुने उपकरण, जनशक्ति व्यवस्थापन लगायतका विषयमा प्रदेश सकारले अहिलेदेखिनै तयारी थाल्नुपर्नेमा उनको जोड छ ।
अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले बताए । यसैगरी दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको र्याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ ।
सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो ।
नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको थियो ।