Lumbini Rise
रूपन्देहीमा दुरगामी सहकारी काण्ड :  बचतकर्ताको विचल्ली बनाउँदै अध्यक्ष सचिव फरार 

बुटवल –  रुपन्देहीको तिलोत्तमामा स्थित दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि  संकट उत्पन्न भएको छ । बचतकर्ताहरुको रकम अपचलन भएपछि सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन भएका छन् ।

सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु नै सम्पर्कमा नरहेपछि तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीका बचतकर्ताहरुले  प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् । सहकारीको कार्यालयमा उपाध्यक्ष सहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु समेत तालाबन्दीमा सरिक भएका हुन् ।   संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ।

सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौल बिग्रिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए । “प्रारम्भिक रुपमा हेर्दा १०–१२ करोड अपचलन भएको देखिन्छ, तर कतिपय फाइल र ऋण प्रवाह भएका कागजपत्र कमजोर देखिएकाले अपचलन भएको रकम बढ्न सक्छ”–उनले भने । माइन्यूट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिंडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए ।

कागजपत्र जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्यूट गरेकोमा उक्त माइन्यूट नै च्यातेर फरार भएपछि अन्य पदाधिकारी तथा सदस्यहरुले संस्थामा थप आर्थिक हिनामिना रोक्न भन्दै मंगलबार तालाबन्दीको निर्णय गरेका थिए ।

उनीहरुले सहकारीमा सुरक्षाको माग गर्दै प्रहरी कार्यालय ड्राइभरटोलमा निवेदन दिएपछि ड्राइभरटोलको प्रहरी टोली पनि सहकारीमा गई मुचुल्का गरेको थियो । सहकारीबाट ५ लाख रुपैयाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२–१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको समेत देखिएको छ ।

त्यस्तै शेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौं रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ । उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपियाँ छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपियाँ बचत अपचलन भएको देखिएकाले बताए । अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहबरमा थप हिनामिना हुन नदिन संस्था शिल गरिएको उनले जानकारी दिए ।

सहकारीमा करिव १९ सयको हाराहारीमा शेयर सदस्य रहेका छन् । त्यसमध्ये ११ सय ऋणी र ९ सय बचतकर्ता छन् । यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुलीलाई सम्पर्क विहिन भएका हुन् । उनीहरु फरार छन । 
 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update