
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१ बाट दलन टेलिशृङ्खला पुरस्कृत भएको छ ।
मन्त्रालयले राष्ट्रिय नाँचघरमा एक बिशेष समारोहका विच जागरण मिडिया सेन्टरले निर्माण गरेको जातीय भेदभाव र छुवाछुत सम्बन्धी टेलिश्रृखला दलनलाई पुरस्कृत गरेको हो । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेयले जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई पुरस्कार प्रदान गरेका हुन ।
उक्त अवसरमा दलन टेलिश्रृखलाले नेपाली समाजमा जरा गाडेर बसेको जातीय छुवाछुत र जात प्रथाको अत्याचार र नेपाली समाजको चित्रण प्रस्तुत गरेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार विभिन्न विधाका ११ पुरस्कार वितरण गरेको थियो ।
दलन टेलिश्रृखलाले जातीय भेदभाव विरुद्ध समाजको वास्तविक तस्विर देखाएको बताउँदै निर्माण गरेको करिव डेढ दशकपछि गरेको पुरस्कारले उर्जा थपेको अध्यक्ष कमला विश्वकर्माले बताईन । उनले यो पुरस्कार जागरण मिडिया सेन्टरसँगै टेलिसिरियलका लेखक, निर्देशक, कलाकार, छायांकन र तत्तकालिन समयको निर्माण पक्षको योगदानको समेत सम्मान भएको भन्दै सबैलाई धन्यवाद दिईन ।
दलन टेलिसिरियल नेपाली कला क्षेत्रमा अभिनय र कथा प्रस्तुतीको हिसाबले निकै उत्कृष्ट थियो । जागरण मिडिया सेन्टरले दलन टेलिसिरियलसँगै जातीय भेदभाव विरुद्ध सञ्चारकर्मीहरु उत्पादन, बुटवलमा रेडियो जागरण सञ्चालन गर्नुका साथै अधिकार र न्यायको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।