बुटवल- बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भएको छ ।
झन्डै ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुविधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गर्न सकिने छ।
डिपिआर पश्चात् गणेश टोलमा रहेको सो जग्गाको भोगाधिकारको प्रक्रिया सुरु भएको र अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलको लागि आवश्यक जग्गा प्राप्ति पश्चात् भौतिक पूर्वाधार निर्माणका काम शुरु हुने तामनगर ब्याडमिन्टन क्लबले जनाएको छ। यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरी प्रक्रिया अघि बढाइएको र यसबर्ष नै सङ्घीय सरकारले अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलका लागि ३ करोड बजेट विनियोजन गरेको क्लबका अध्यक्ष सुभाष कर्माचार्यले बताए।
शनिवार तामनगरमा आयोजित क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै अध्यक्ष कर्माचार्यले सो कुरा बताए। यसअघि पनि बुटवल उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा केही पुर्वाधार निर्माणको कामहरू भएको जानकारी गराउँदै अध्यक्ष कर्माचार्यले यस पटक विशेष महत्वका साथ बजेट विनियोजन गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आभारसहित धन्यवाद व्यक्त गरे।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष डिल्ली प्रसाद शर्माले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, सङ्घीय सरकार सबैको सहयोगबाट यो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे।उनले ब्याडमिन्टन हल निर्माण हुने स्थलमा निकट भविष्यमा जग्गाको नाप जाँच हुने आवश्यक प्राविधिक तयारी भइरहेको जानकारी गराए।
नाप जाँचपछि फिल्ड बुक तयार हुने र फिल्ड बुक तयार भइसकेपछि जग्गाको भोगाधिकारको प्रक्रिया तत्काल अघि बढाईने बताए। पूर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदीले सम्पूर्ण वडावासीका लागि गौरवको योजनाका रूपमा रहेको यो परियोजनालाई सफल बनाउन जुनसुकै परिस्थिति र चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिए।
भूपू सैनिक कल्याणकारी क्लब तामनगरका अध्यक्ष पुरन बहादुर शाहीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउँदै सबैलाई सक्रिय भएर लाग्न सुझाव दिए। ब्याडमिन्टन क्लबका पूर्व अध्यक्ष बालकृष्ण पौडेलले परियोजना सफल बनाउन राजनैतिक, सामाजिक, व्यक्तिगत सबै प्रकारले सहयोग गर्न राजनैतिक दल, समाजसेवी, बुद्धिजीवी, पत्रकार सबैलाई आग्रह गरे। पूर्व अध्यक्ष मधु पुलामी मगरले सबैले तन मन धनले सहयोग गरेर विगतमा जस्तो बजेट फ्रिज हुने अवस्था नआउने वातावरण बनाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा क्लबका उपाध्यक्ष बुद्ध गहतराज, सचिव केशव तिवारी, पूर्व सचिव चुरन थापा, कोषाध्यक्ष रामु सुबेदी, सदस्य ढुण्डिराज खनाल लगायतले क्लबको स्थापनाको उद्देश्य, यसअवधीमा भए गरेका गतिविधिहरू र आगामी योजनाका बारेमा चर्चा गरेका थिए। विसं २०७२ सालमा स्थापना भएको सो क्लबमा २६ जना आजीवन सदस्य र २४ जना साधारण सदस्य गरी कुल ५० जना सदस्य रहेका छन् ।
यसैबिच शनिवार सम्पन्न साधारण सभाले बुटवल १२ का विभिन्न स्थानमा रहेका ५ वटा क्लबहरूलाई एकैठाउ मर्ज गरेर एउटै बृहत् क्लब बनाउने उद्देश्यका साथ ती क्लबहरूसँग संवाद गर्ने र गाभ्ने विषयमा छलफल गरी टुङ्गो लगाउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
सो अवसरमा संस्थालाई प्रत्यक्ष सहयोग पुराई योगदान गर्ने महानुभावहरूलाई सम्मान गरिएको थियो। साथै गतबर्षको एसइई मा उत्कृष्ट नतिजा ल्याउन सफल क्लबका सदस्य परिवारका बिद्यार्थीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।