Lumbini Rise
पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुटवलमा पनि प्रदर्शन

 

लुम्बिनी - नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार ७० औं स्थापना दिवस विरोधसभा गरेर मनाएको छ । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गरिएको छ । 

केन्द्रीय सर्कुलर अनुसार रुपन्देही शाखााले पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै बुटवल जेसिसचौकमा प्रदर्शन गरिएको हो ।

विरोधसभामा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकार सुरेश रजक हत्याको छानविन गर, नो जर्नालिजम्, नो डेमोक्रेसी, तथ्य लुक्दैन, कलम झुक्दैन, डर र दबाबमुक्त पत्रकारिता हाम्रो अधिकार, जहाँ स्वतन्त्र प्रेस छैन, त्यहाँ लोकतन्त्र छैन जस्ता प्लेकार्ड तथा क्यामेरा पेन सडकमा राखेर विरोध प्रदर्शन गरिएको थियो । 

विरोधसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले राजावादी आन्दोलनमा पत्रकार सुरेश रजकलाई आततायी रुपमा जलाएर हत्या गरिएको बताउँदै प्रेसमाथिको आक्रमण स्विकार्य नहुने बताए । उनले सञ्चारकर्मीमाथिको आततायी घटनाको सत्यथत्य छानविनको माग गर्दै मिडियाहरुमा भएको आक्रमणको निन्दा गरे । 

उनले राजावादीहरुले प्रेसमाथि आक्रमण गरेर राजा फर्काउने सपना नदेख्न समेत चेतावनी दिए । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्यले आन्दोलनका नाममा पत्रकारको हत्या, मिडियाहरुमा भएको आक्रमणले देशैभरका पत्रकारहरु आन्दोलीत भएको भन्दै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे । 

विरोधसभामा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थकहरुले पत्रकारको हत्या र मिडिया हाउसहरुमा गरेको आक्रमणले फेरी आफूहरुलाई आन्दोलित बनाएको बताउँदै यस्ता गतिविधि नगर्न चेतावनी दिए । उनले आफूहरु समेत सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएकाले आफूहरुलाई नजिस्क्याउन प्रदर्शनकारीहरुलाई आग्रह गरे । 

चापागाईले रजकलाई सहिद घोषणा गर्न, राहात र क्षतीपूर्ती उपलब्ध गराउन सरकारसँग माग गरे । शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा खटिएका एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो। 

विरोधसभामा प्रगतिशिल पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेय, समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष विनोद परियार, जनपत्रकार संगठन नेपाल रुपन्देही अध्यक्ष विनोद खनाल, शान्ति समाज रुपन्देही अध्यक्ष अर्जुन ज्ञवाली, इन्सेक रुपन्देहीका रीमा बिसि लगायतले बोल्दै आन्दोलनप्रती ऐक्यवद्धता जनाएका थिए । 

महासंघ रुपन्देहीले स्थापना दिवसका अवसरमा आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता शनिबारको स्थगित गरि सोमबार सारिएको अध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए । रजककाे हत्यामा संलग्नलाइ कारवाही, घाइते पत्रकारहरुकाे शिघ्र स्वास्थ्यलाभकाे कामना तथा सञ्चारगृहमा भएकाे आक्रमणकाे निन्दा सहित केन्द्रीय कार्यक्रम अनुसार संघर्षका कार्यक्रम गरिने सचिव सिपि खनालले बताए ।

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update