मुटु अस्पतालमा एक्सरे गर्न गएकी किशोरीमाथि दुर्व्यवहार, कर्मचारी पक्राउ

बुटवल– बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । अस्पतालको एक्सरे विभागमा काम गर्ने प्राविधिक कर्मचारीले एक्सरे गर्न पुगेकी एक किशोरीलाई दुर्व्यवहार गरेपछि ३१ वर्षीय सुवास गौतम पक्राउ परेका हुन् ।
दुव्र्यहारको आरोपमा शुक्रवार पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । घटनाबारे बुटवल वडा न. १० का वडाध्यक्ष बलबहादुर पुन बलुले समेत पुष्टि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै घटनालाई वडा कार्यालयको तर्फबाट मुचुल्का गरी दोषीलाई कारबाहीको लागि प्रक्रिया अघि बढाएको बताएका छन् ।
‘गौतम बुद्ध मुटु हस्पिटल बुटवलका एक्सरे कर्मचारीले एक्सनेको क्रम चेकजाँच गर्न आउने १७ वर्ष बालिकालाई हिजो मिति २०८२–०४–१६ गतेको दिन यौन दुर्व्यवहार भएको छ । सो व्यक्ति कडा भन्दा कडा कारबाही होस् दोषीलाई इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धानको लागि हिरासतमा राखिएको छ’ वडाध्यक्ष पुनले फेसबुकमा लेख्दै भनेका छन्–‘उक्त घटनामा मलाइ आज १ बजे मात्र जानकारी आयो र सो घटनालाई वडा कार्यालयको तर्फबाट मुचुल्का गरी दोषीलाई कारबाहीको लागि प्रक्रिया अघि बढाएको छ।’
यो घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरी कारबाही गर्ने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ ०७:३१
प्रतिक्रिया दिनुहोस्