Lumbini Rise
बुटवलको सनराईज सहकारीमा आर्थिक अपचलन, अध्यक्ष फरार

 

लुम्बिनी– बुटवलमा दैनिक बचत संकलन गर्ने गरी सञ्चालित सनराईज बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकहरु कार्यालयमा सूचना टाँस गरी फरार भएका छन् । बुटवल ११ देविनगर स्थित कार्यालयमा चैत ३१ गते सूचना टाँस गरी सञ्चालक र कर्मचारीहरु सम्पर्क विहिन भएका हुन् ।

सहकारी परिवारको नामबाट जारी गरेको सूचनामा अध्यक्ष आकाश भट्टराईले संस्थाको आर्थिक रकम हिनामिना गरेको र अध्यक्षको खोजी नहुँदासम्म कार्यालय बन्द हुने उल्लेख गरेको छ ।


अध्यक्ष भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्र्पकमा नआएको र अध्यक्षको खोजी गरेर सम्पर्कमा ल्याएपछि बचतकर्ताहरुको रकम फिर्ताको प्रकृया अगाडि बढाईने सूचनामा लेखिएको छ । यतिसम्मकी अध्यक्षको खोजीका लागि बचतकर्तालाई समेत अपिल गरिएको छ । 

‘कार्यलय खोलेर बस्न नसकिने र बचतकर्तान कार्यलयमा धनां दिने सुरक्षाको दृष्टिकोणले गर्दा संस्था बन्द रहने व्यहोरा यसै सुचनाद्वारा जानकारी गराउदछौ’ सूचनामा भनिएको छ । सहकारीले एकाएक सूचना निकालेर कार्यालयमा ताला लगाएर कर्मचारी समेत सम्पर्कविहिन भएपछि बचतकर्ताहरु भने विचल्लीमा परेका छन् । 

सूचना निकालेर कार्यालय बन्द भएको थाहा पाएर आउदा कोही पनि सम्पर्कमा नआएको तिलोत्तमाकी ४ की दीपा रजालीले बताईन । उनले दुःखसुख गरेर दैनिक बचत गरेको बताउँदै सहकारीले विश्वासघात गरेको बताईन । उनले सहकारी भनेर विश्वास गरेर बचत गरेको तर, सञ्चालक कोही पनि सम्पर्कमा नआएर फरार भएकाले सरकारलाई समेत कारवाहीका लागि माग गरिन ।


सहकारीले कार्यालयमा सूचना टासी सहकारी कार्यालय बन्द  भएको आफ्नो बचत रकम लिन कार्यालयमा आएकी बुटवल ७ दीप नगरकी स्मृती पाण्डे पौडेलले कोही पनि सम्पर्कमा नआएको बताईन । ‘छोरा छोरीको स्कुलको नास्तालाई कटौती गरि दैनिक १ दुई सयका दरले जम्मा गरेको थिए, आज रकम लिन आउदा सहकारी नै बन्द छ’ उनले भनिन ।


बुटवल ११ देविनगरका किरण गुरुङले सानो व्यवसायबाट दैनिक बचत गरेकोमा अहिले आउदा कर्मचारी र सहकारी सञ्चालक नै फरार हुँदा संकटमा परेको बताए । उनले व्यापार व्यवसाय समेत राम्रो नभएकाले बचतकै रकमबाट भाडा तिर्न भनेर रकम निकाल्न आउदा कार्यालय बन्द भएपछि मात्रै सहकारीले ठगेको थाहा भएको बताए । ‘सूचनामा नम्बर राखिएपनि सम्पर्क हुँदैन । कार्यालयमा म आएदेखि दिनभर भित्र घन्टी बजेको छ’ गुरुङले भने ।


सहकारीले दैनिक बचत संकलन गर्ने भएकाले करौडौ रकम उठाएर भागेको हुन सक्ने अनुमान गरिएको छ । सहकारीका अध्यक्ष अशोक भट्टराई,  कोषाध्यक्ष बसन्त भट्टराईले मोवाईल फोन अफ गरी सम्र्पक विहिन भएका हुन भने सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीहरु आफूहरु नै अन्यायमा परेको गुनासो गरेका छन । उनीहरुले नातेदार परेकाले सहकारी दर्ताका बेला नागरिकताको फोटोकपी मात्रै दिएको बताउने गरेका छन ।


सनराईजमा कति बचत कर्ता ठगिए भन्ने यकिन हुन सकेको छैन । उनीहरुले बुधबार कार्यालय अगाडि धर्ना दिएका थिए । बचत रकम फिर्ता नपाउँदासम्म निरन्तर आन्दोलनमा उत्रने बचतकर्ताहरुको भनाई छ । सहकारीले सर्वसाधरणलाई ठगेपनि सरकारी निकायको भने ध्यान अझै पुग्न सकेको छैन । लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्ट्रार मधुकृष्ण पौडेलले आफूहरुले पनि तत्तकाल केही गर्न नसक्ने बताए । उनले प्रदेश स्थापन भएपछि दर्ता भएका सहकारीको अबस्था राम्रो नभएको बताउँदै सनराईज पनि त्यही अवस्थामा पुगेको बताए । उनले सहकारीहरुले बदमासी गरिरहेको पाइएकाले अब यसबारे ठोस कदम चाल्नुपर्ने बताए । 

लुम्बिनी प्रदेश स्थापनापछि १३०  वटा सहकारी प्रदेशमा दर्ता भएका छन ।  प्रदेश सरकार अन्तगर्त  ८ सय ४८ सहकारी छन् । यी सहकारीहरुको  अनुगमन र नियमनका लागि कर्मचारीको अभाव भएकाले गर्न नसकिएको रजिष्टार पौडेलले नै स्विकार गर्छन । सनराईज सहकारीमा कति शेयर सदस्य र कति नियमित दैनिक बचतकर्ता छन भन्ने यकिन हुन सकेको छैन । कार्यालय देविनर सिसिटि कलेज अगाडि छ ।


यसअघि बुटवको सुप्रिम र शिखर सहकारीले करौडो रुपैयाँ अपचलन गरिसकेको अवस्थामा सनराईज बहुउद्देयीय सहकारीको ठगीले सर्वसाधरण चिन्तामा छन् । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको अभियोगमा पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागार चलान भएका छन् भने सहकारीका सञ्चालकहरु पनि जेलमा छन् ।
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update