दर्ता बिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
बुधबार, जेठ २८, २०८२
भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैर कानुनी रूपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैर कानुनी रूपमा संचालन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौँ ।’