-1749635174.jpg)
भैरहवा– जिल्ला स्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै सञ्चालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधवार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यावसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।
अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ताविनै गैर कानुनी रूपमा स्वास्थ्य संस्था सञ्चालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैर कानुनी रूपमा संचालन रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौँ ।’
रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन समेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।
बन्द गरिएका क्लिनिकहरूमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक छन् ।
यस्तै, जीविका मेडिकल प्रालिमा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरू सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।