Lumbini Rise
इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुटवलमा कलाकारहरुले गरे प्रदर्शन


बुटवल– नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीले इम्बोस्ड नम्बर प्लेटका विरुद्ध शनिबार बुटवलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ। बुटवल पुष्पलाल पार्कमा हस्तलिखित कपडाको ब्यानर टागेर सरकारले नेपाली लिपि लोप गराउने गरी इम्बोस्ड नम्बर राख्न निर्देशन दिएको विरोधमा कलाकारहरुले प्रदर्शन गरेका हुन् ।

“हामी प्रविधिको विरोधी होईनौ, यसमा भएका त्रुटीहरूको विरोधी हौं’ भन्ने नाराका साथ कालो ब्यानर टागेर सरकारलाई खबरदारी गरेका थिए ।  आफ्नै देशको नेपाली लिपि हुँदाहुँदै विदेशी अंग्रेजी लिपि प्रयोग गरेर सरकारले गलत गरेको उनीहरुको ठहर छ ।

कलाकार संघले नेपाली आईटी प्राविधिकहरुलाई नजरअन्दाज गरी विदेशी कम्पनीलाई सम्पूर्ण तथ्याङक संचालनको जिम्मा लगाउन खोजिएकाले यसले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले राष्ट्रघाती कार्य भएको बताएको छ ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका केन्द्रीय सल्लाहकार शान्तराम गिरीले सरकारले नेपाली लिपि नामेट पार्ने र विदेशी चलखेलमा लागेर नेपाली श्रमजिवि कलाकारहरुको व्यवसायमाथि प्रहार गर्न खोजेको आरोप लगाए । उनले कमिशन, माफिया र सरकारको मिलिभगतमा विदेशी कम्पनीको साँठगाँठमा ल्याईएको हुनसक्ने भन्दै सरकारलाई तुरुन्त सच्चाउन माग गरे ।

 यस्तै कार्यक्रममा बुद्ध जागरण अम्बेडकर मञ्चका अध्यक्ष हरिओम विश्वकर्माले ईम्बोस्ड नम्बर प्लेट हचुवाको भरमा जडान गर्न सर्वसाधरणलाई बाध्य पार्न खोजेको बताउँदै पहिला इम्बोस्ड रिड गर्ने मेशिन जडान गर्न सरकारलाई आग्रह गरे । उनले नेपाली लिपिको सट्टा अग्रेजी राख्न खोज्नु र निकै खर्चिलो गरी इम्बोस्ड नम्बर लेखाउन लागिएकाले यसको खारेजीका विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

संघ रुपन्देहीका अध्यक्ष दिलिप रसाईलीले आफूहरुले सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको बताउँदै सरकारले निर्णयमा पुर्नविचार नगरे सबै कलाकारहरु सडकमा कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले नेपाली लिपि नामेट पार्ने, स्वदेशका कलाकारहरुको व्यापारमा समेत असर पार्ने गरी निकै महंगोमा इम्बोस्ड नम्बर राख्नुपर्ने अवस्था सृजना गरेकाले सबैले विरोध गर्नुपर्ने बताए । नेपाल व्यवसायिक कलाकार संघले देशभैर विरोध गरेको संघ रुपन्देहीका सहसचिव राजु खड्काले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update