Lumbini Rise
ध्रुबतारा सयपत्री सहकारीको १९ औँ वार्षिक साधारणसभा

बुटवल- ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १९ औँ वार्षिक साधारणसभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष मान बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ सेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्य रहेको थियो । खनालले बोल्दै सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले यसलाई सही तरिकाले सदुपयोग गर्न सकेमा सबैको हित हुने बताए । उनले ध्रुवतारा सयपत्री सहकारीले सदस्यहरूको हितमा काम गरेको बताए ।

सहकारीका अध्यक्ष मान बहादुर कुँवरले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मणि रत्न शर्माले आर्थिक प्रतिवेदन र वित्तीय लक्ष्य प्रस्तुत, लेखा सुपरिवेक्षण समिति संयोजक पशुपति पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालले सेयर सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । साधारण सभामा सहकारीमा रिक्त रहेको महिला सदस्यमा कमला आचार्य पोखरेललाई चयन गरिएको छ । पोखरेल सहकारीको सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । सहकारीका कानुनी सल्लाहकार तथा निर्वाचन समिति संयोजक अधिवक्ता माधवप्रसाद घिमिरेले नवनिर्वाचित सदस्य पोखरेललाई शपथ ग्रहण गराएका थिए ।

यस्तै कार्यक्रममा असल ऋणी सम्मान कार्यक्रम अन्तर्गत दीपा के.सी र बम बहादुर जी.सी एवं छात्रवृत्ति प्रोत्साहन अन्तरगत सिद्वेस्वरी मावि कक्षा ७ मा अध्ययन गर्ने सुप्रीया श्रेष्ठ र कान्ति मावि कक्षा ८ मा अध्ययनरत अमित कुँवरलाई जनही नगद ५००० ले प्रोत्साहन गरिएको संस्थापक सचिव विनोद खनाले जनाए । साथै अधिक सदस्य वृद्धि प्रोत्साहन अन्तरगत कार्यालय सहायक भगवती कुमारी थापा क्षेत्रीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार चुरामणि भुसाल, तुलसीराम शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैगरी साधारण सभामा प्रस्तुत भएका विषयवस्तुबारे खुमानन्द भुसाल, गोपाल गैरे र डिल्लीप्रसाद पाध्याले सुझावहरू राखेका थिए ।

आ.व. २०८१/०८२ असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति २० करोड ५ लाख ७६ हजार २ सय ३२ रुपैयाँ ८ पैसा, सेयर पुँजी २ करोड १ लाख २० हजार रुपैयाँ, निक्षेप सङ्कलन १५ करोड ४६ लाख १४ हजार ९४ रुपैयाँ ४४ पैसा रहेको छ । सहकारीमा ७ सय ७ जना महिला र ६ सय ९६ जना पुरुष सदस्य गरी कुल १ हजार ४ सय ३ जना सेयर सदस्यहरू आबद्ध रहेका छन् ।

सहकारीका उपाध्यक्ष ई. छविन्द्र भट्टराईले संस्थाको बारेमा जानकारी सहित स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव विनोद खनालले गरेका थिए । सो सभामा सहकारीका बारेमा तयार गरिएको गीत प्रस्तुति समेत गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update