Lumbini Rise
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं 


बुटवल–  अलपत्र यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार भैरहवा–काठमाडौं चार्टर्ड उडान गरेको छ । निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भैरहवाबाट उडान भरेको हो ।

काठमाडौंबाट दिउँसो ३ बजेर ४२ मिनेटमा भैरहवा ल्याण्ड गरेको न्यारोबडीले बेलुका साढे पाँच बजे १ सय ५७ जना यात्रु लिएर काठमाडौं फर्किएको हो । 

काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । बर्षातले सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो ।

यात्रुको समस्यालाई मध्यनजर गरी  नेपाल वायुसेवा र सरकारको पहलमा आपतकालिन सेवा दिइएको महाप्रवन्धक तिवारीले बताए ।  आइतबार भैरहवाबाट न्यारोबडीले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । तर, सोमबार उडान भएपछि सर्वसाधरण शुखी भएका छन् ।

अन्य समयमा भैरहवा–काठमाडौं दैनिक १८ देखि २० वटा नियमित उडान हुँदै आएका छन् । तर, दसैं मान्न विभिन्न जिल्ला पुगेका यात्रुहरु सडक संजाल बन्द भएपछि अलपत्र परेका थिए । बुद्ध, यति र श्री एयरले उडान थप गरे पनि टिकट नपाएपछि यात्रुले टिकट नपाएको गुनासो गरेका थिए ।

न्यरोबडीले काठमाडौंबाट बैदेशिक रोजगारीमा जाने टिकट लिएका यात्रु, विरामी, अशक्त र बृद्धबृद्धालाई प्राथमिकतामा राखेर उडान गरेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update