रुपन्देही– लुम्बिनी विकास कोषमा ५ बर्षे कार्यकाल सकिएर रिक्त रहेको सदस्य–सचिवको जिम्मेवारी बरिष्ठ निर्देशक ज्ञानीन राईलाई दिईने भएको छ ।
कोषका सदस्य–सचिव सानुराजा शाक्यको असोज २१ मा कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा कोषका १० औं तहका बरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिवको जिम्मेवारी दिईने भएको हो ।
राईले कायममुकायम सदस्यसचिवको जिम्मेवारी समालेपछि औपचारीक पत्र भने पाइसकेका छैनन । लुम्बिनी विकास कोष पदाधिकारी विनियमावली, २०५८ को विनियममा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य संचालन गर्ने व्यवस्था रहेको कोषले जनाएको छ ।
२०७६ मंसिर १५ मा कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकोमा संस्कृति मन्त्रालयको ०७६ पुस २७ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो । यही संशोधनका आधारमा ०७६ माघमा राई ८ महिना कामु सदस्य–सचिव भएर काम गरिसकेका छन् ।
उपाध्यक्ष डा. ल्हारक्याल लामा विदेशबाट भर्खर फर्किएकाले शनिबार लुम्बिनी आएर कामु सदस्य–सचिव राईलाई औपचारिक पत्र दिने तयारी भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकबाट कोषको सदस्य–सचिव नियुक्त हुने प्रावधान छ । अहिले अन्तरीम सरकार रहेको र मन्त्री समेत नियुक्त नभईसकेकाले तत्तकाल सदस्य सचिव नियुक्ति हुने सम्भावना छैन ।