बुटवल– पश्चिम नेपालको व्यापारिक र पर्यटकीय विश्रामस्थल बुटवलमा साँढे ३ अर्बको लगानीमा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा आएको छ । आन्तरिक तथा विदेशी पर्यटकलाई अन्र्तराष्ट्रिय स्तरको होटलको सेवा दिने उद्देश्यले हायात प्यालेस सञ्चालनमा आएको हो ।
क्यासिनो सहित संचालन हुन लागेको होटल पाँच तारे हो । आईतबार पत्रकार सम्मेलन गर्दै मुख्य गरी भारतीय पर्यटकलाई लक्षित गरी होटल स्थापना गरिएको अध्यक्ष चुन्नु प्रसाद पौडेलले बताए ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि २५ कट्ठा क्षेत्रफलमा १० तले भवनमा अत्याधुनिक सुविधा सहित १ सय ९ कोठाको होटल बनेको हो । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउदा ३५० जनाले रोजगारी पाउनेछन् ।

सुरुमा होटल सेफ्रोनका नाममा निर्माण सुरु भएपनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेस नाममा सञ्चालनमा आएको हो । ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभरि ४ सय २० भन्दा बढी स्थानमा फैलिएको छ । ह्यातको सम्पूर्ण व्यवस्थापनमा आगामि नोभेम्बर २५ तारिखदेखि सञ्चालनमा आउने अध्यक्ष पौडेलले जानकारीदिए । होटलमा ग्लोवल आइएइ बैंक लिमिटेड र होटेल स्याफोन सिकेको संयुक्त लगानी रहेको छ ।
रुपन्देहीको अग्रणी औद्योगिक घराना चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त रुपमा लगानी गरेका छन् । पाँच वर्षअघिदेखि निर्माण गरिएको होटेलले पर्यटन भित्र्याउन योगदान गर्ने लक्ष्य राखिएको छ ।
भारतिय तथा विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ स्तरीय होटल निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । ‘हाम्रो छिमेकी देश भारत लगायत उत्तर प्रदेशको करिव २४ करोड जनसंख्या मध्ये केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राउन सकियो र यहाँ बास बसाल्न सकियो भने यसले रुपन्देहीको अर्थतन्त्र चलायमान बनाउनेछ’ पौडेलले भने । उनले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुद्धजन्मस्थल लुम्बिनी जस्ता क्षेत्रका कारण लगानी गरेको बताए ।
विभिन्न ६ श्रेणीका १ सय ९ कोठा रहेको होटलमा एक रातमा २ सय ५० पाहुना बास बस्न सक्ने सञ्चालक पौडेलले बताए । होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको सञ्चालक नरिश्वर पौडेलले बताए ।
बोधीवृक्षको पातको आकृति होटलका धेरै संरचनामा राखिएको छ भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ ।
होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार मानिने चार विशेष वास्तुकला स्तम्भले निकै भव्य बनाएको छ । जसमा बुद्ध दर्शनका चार आर्य सत्य दुख छ, दुखको कारण छ, दुखको निरोध सम्भव छ र दुख निरोधको मार्ग छ भन्ने झल्काइएको छ ।
यसका साथै होटल निर्माणका क्रममा पश्चिमतर्फको कुसुम पथमा ३ सय मिटर सडक करिव ४० लाख लगानी गरेर पीच र सौन्दर्यकरण गरेको छ । भविष्यमा होटलबाट खर्च कटाएर हुन आउने बचत रकमको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने समेत सञ्चालकहरुले प्रतिबद्धता जनाएका छन् ।



