Lumbini Rise
१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, ८ लाखले अवलोकन गर्ने

बुटवल – बुटवलमा पुस ३ गतेदेखि १७ गतेसम्म “१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२”  हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा प्रदर्शनी हुन लागेको हो । मंगलबार मेलास्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पूरा भएको जनाएका छन् ।

 “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” नाराका साथ प्रदर्शन आयोजना गरिएको छ । प्रदर्शनीको विहिबार पुस ३ गते दिउँसो २ः१६ मा अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नेछन् । प्रदर्शनीले  स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए । 

स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन प्रदर्शनी राखिएको उनले बताए । 

“स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्ता सँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिईएको छ” अध्यक्ष पराजुलीले भने । उनले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकामा यो महोत्वले टेवा पुराउने आयोजकले विश्वास लिएका छन ।

प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयां प्रविधिको खोजी, कृषिको प्रविधिकरण , पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्टाटअप स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्रिया गरिने बरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेले बताए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ३५० स्टलहरु रहनेछन । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुति, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, हिपहप, मम्मी डान्स, लोक भजन लगायतका प्रतियोगिताहरु समेत राखिएको प्रचार प्रसार संयोजक किरण खरेलले बताए ।

 प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार बुटवलमा र्‍याली निकालिनेछ । प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा ६५ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रदर्शनी अवलाेकन गर्न सर्वसाधरणले ७५ रुपैयाँमा टिकट शुल्क तिर्नुपर्नेछ । विद्यार्थीले ५० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङ्गगता भएकाहरुले निशुल्क प्रवेश पाउनेछन । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update