Lumbini Rise
अर्घाखाँचीमा  काठ उत्पादन बढ्याे, माग घट्यो

अर्घाखाँची- अर्घाखाँची जिल्लामा पछिल्लो पाँच वर्षको अन्तरालमा काठ उत्पादनमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको माग भने निरन्तर घट्दो क्रममा रहेको छ ।

डिभिजन वन कार्यालयका अनुसार वनबाट उत्पादन हुने काठको परिमाण बढे पनि बजारमा खपत नहुँदा ठूलो मात्रामा काठ मौज्दात रहने अवस्था सिर्जना भएको हो ।

जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६ सय ५० क्युफिट काठ उत्पादन भएकोमा सोही वर्ष सम्पूर्ण काठ खपत भएको थियो । तर, त्यसपछिका वर्षहरूमा उत्पादन बढे पनि बिक्री ओरालो लागेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०८०/८१ मा १० हजार ५ सय क्युफिट काठ उत्पादन हुँदा जम्मा २ हजार ९ सय ४२ क्युफिट मात्र बिक्री भई करिब ७ हजार ५ सय क्युफिट काठ बाँकी रह्यो ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा १७ हजार २ सय २३ क्युफिट उत्पादन भएकोमा ५ हजार ३७ क्युफिट मात्र बिक्री भई १२ हजार १ सय ८५ क्युफिट काठ स्टक रहेको छ ।

चालू आर्थिक वर्षमा १८ हजार ९ सय ५० क्युफिट काठ उत्पादन भए पनि हालसम्म न्यून मात्रामा मात्र बिक्री भएको छ, यद्यपि समय बाँकी रहेकाले माग बढ्ने अपेक्षा कार्यालयले लिएको छ ।काठ सर्वसुलभ र सस्तो हुँदाहुँदै पनि माग घट्नुमा मूल्य नभई अन्य कारणहरू मुख्य देखिएका छन् । लुम्बिनी प्रदेश वन निर्देशनालयले तोकेको मापदण्ड अनुसार ‘ए’ ग्रेडको काठको १०० रुपैयाँदेखि ‘डी’ ग्रेडको २० रुपैयाँसम्म मात्र पर्ने भए पनि उपभोक्ताको आकर्षण घटेको छ ।

वन अधिकृत चौधरीका अनुसार घर निर्माण कार्यमा आएको कमी, कानुनी जटिलता, आल्मुनियमको बढ्दो प्रयोग, विदेशी देखासिकी र गोलिया काठ किन्दा सस्तो परे पनि चिरान गर्दा खर्चिलो हुने जस्ता कारणले काठको खपत घटेको हो ।

जिल्लाको कुल क्षेत्रफलको ५८ प्रतिशत अर्थात् ७३ हजार २ सय ८ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ, जसमध्ये ३४ हजार हेक्टर क्षेत्रफल सामुदायिक वन अन्तर्गत पर्दछ । जिल्लाभर रहेका ४४६ वटा सामुदायिक वनहरूबाट वार्षिक १ लाख ४० हजार क्युफिट काठ उत्पादन हुने क्षमता रहेको छ ।

सन्धिखर्क, भूमिकास्थान, शितगंगा लगायतका विभिन्न पालिकामा रहेका यी सामुदायिक वनहरूले काठ बिक्रीबाट हुने आम्दानी विकास निर्माणमा खर्चिने गरे पनि पछिल्लो समय खपत नहुँदा समस्या देखिएको वन कार्यालयले जनाएको छ

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update