Lumbini Rise
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

बुटवल - उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार-२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो ।

रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उद्घाटन समारोहमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. रामेश्वर खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गरेका हुन ।

आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकम को लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत छन । वि.स.२०६८ सालदेखि रुपन्देहीसहित लुम्बिनी प्रदेशलाई आफ्नो कर्मक्षेत्र बनाएर पत्रकारितामा सक्रिय आचार्यले यसअघि प्रेस काउन्सिल विद्यागत पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।

यस वर्षको पुरस्कार छनोटको लागि मूल्याङकन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी र सदस्यहरूमा अर्थविद् मनिकर कार्की र रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा सदस्य थिए । पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक र उद्योग क्षेत्रको विकासमा यो पुरस्कार थप प्रेरणा र हौसला मिल्ने बताए । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update