Lumbini Rise
बुटवलमा औद्योगिक पर्दशनी सुरु, अर्थमन्त्री खनाले गरे उद्घाटन 

बुटवल – रुपन्देही उद्योग संघको आयोजनामा विहिबारदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि,प्रविधि तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरे ।

उनले उदघाटन समारोहलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए। उनले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गरे ।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो अवस्थामा निर्वाचनको विकल्प छैन । यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन्’ उनले भने ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस् ।’

अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताए । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो ।’ उनले भने–‘अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन् ।’

उनले बुटवल पहिलेबाट औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताए । पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने यो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डे, बुटवलका मेयर खेलराज पाण्डे, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राखेका थिए ।

उद्घाटन समरोहमा बरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्लेको स्वागत तथा महासचिव सुमन बस्यालको सञ्चालनमा कार्यक्रम भएको हो । प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । 

प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टल रहने प्रचार प्रसार संयोजक किरण खरेलले जानकारी दिए । 

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी,अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सचिव तथा परिचय पत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिए।   

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update