Lumbini Rise
पर्यापर्यटनको विकासमा उद्यानकाे याेगदान अतुलनीय : सराेकारवाला

बुटवल - पर्यापर्यटनको विकास र आर्थिक समृद्धिको लक्ष्य सहित स्थापना भएका देशभरका उद्यानहरूको साझा संगठन नेपाल उद्यान महासंघको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीमा शुरु भएको छ ।

कार्यक्रम एक समारोहबीच पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै उद्यानको विकाससँगै त्यसलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । उद्यान समुदायको हरेक उमेर समुहका मानिसलाई उपयोगी हुने उनले तर्क दिए । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देवि चौधरीले पार्कलाई ब्यवस्थित गर्न सके पर्यटन विकासमा टेवा मिल्ने बताईन । स्थानिय सरकार पार्क विकासमा आवश्यकता अनुसार सहयोग गर्दै आएको उनले बताईन । भिजिट लुम्बिनी, स्टे तिलोत्तमा नारासमेत अघि बढाएको उनले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला वन डिभिजन कार्यालयका डिएफओ प्रविण विडारीले सामुदायिक वनमा निर्माण भएका पार्कहरुको स्वामित्व र पूर्वाधार निर्माणमा देखिएका समस्याबारे प्रकाश पारे। सामुदायिक वन वा छुट्टै स्वामित्व दिने भन्ने विषयमा धेरै मुदाहरु पर्दै आएको उनले बताए । अर्कोतर्फ वन क्षेत्रमा रहेका पार्क सौन्दर्यीकरणको नाममा कंक्रिटको पूर्वाधार रोक्नुपर्ने उनले तर्क दिए ।

 

कार्यक्रममा नेपाल उधान महासंघका सल्लाहकार दल बहादुर गुरुङले संस्थागत परिचय र अभिमुखिकरण र महासचिव युवराज घिमिरेले पार्क संचालन र ब्यवस्थापन सम्बन्धि अवधारणा कार्यपत्र प्रस्तुत गरेका थिए । देशभरका उद्यानहरुलाई संगठित गर्दै शुरु भएको यात्राको क्रममा भएको उचारचढावबारे प्रकाश पार्दै महासंघका अध्यक्ष खेम लुईटेलले उद्यान ब्यवस्थापनमा भएका चुनौतीलाई समाधान गर्ने गरि संस्थागत रुपमा आफुहरु अघि बढेको बताए ।

दुई दिनसम्म चल्ने अधिवेसनमा देशभरिकै ११६ संस्थाका दुई सय बढी प्रतिनिधिहरु सहभागिता रहेको महासंघका महासचिव बेल प्रसाद शर्माले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update