बुटवल- सुनचाँदीको मूल्यमा भैरहेको लगातारको बृद्धि र सरकारी नीतिका कारण सुनचादी व्यवसायमा एकपछि अर्को समस्या थपिदै गएको गुनासो सो व्यवसायमा संलग्न व्यवसायीहरुले गरेका छन् ।
उनीहरुले एकपछि अर्को समस्या थपिदै जादा सुनचादी ब्यवसायीहरु बिस्थापित भएर बिकल्प खोज्नुपर्ने अवस्था आएको दुखेसो समेत गरेका छन् । बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित छैठौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले देशको जटिल राजनिति अवस्था, विश्वबजारमा सुनको मुल्यवृद्घि, भ्याट र २ प्रतिशत विलासिता कर जस्ता विषयका कारण ब्यवसायीहरु पलायनको अवस्थामा पुगेको बताएका हुन ।
उनीहरुले व्यवसायमा रहेको चर्को प्रतिष्पर्धा एवं विश्व वजारमा सुनको मुल्यमा भैरहेको वृद्धि नेपाली ग्राहकहरुको क्रयशक्ति क्षमता भन्दा माथि भएका कारण व्यवसाय सञ्चालनमा कठिनाईहरु बढेको बताएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचादी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुव कुमार गहतराजले सुनचादी व्यवसायी महासंघले व्यवसायीका समस्याका बारेमा लगातार आवाज उठाउदै आएको भएपनि त्यसको उचित सुनुवाई नभएको बताउनु भयो । उहाले पछिल्लो समयमा राज्यबाट फरक ढंगबाट अनुगमन गरिरहेको बताउदै यसकै आधारमा कर तोक्ने जस्ता काम भएको जिकिर गर्नु भयो ।
परम्परागत रुपमा भएको कारोबारलाई जोड्दै संचालक र परिवारको समेत खाता हेर्ने जस्ता काम सुरु भएको सो अवसरमा उहाले बताउनु भयो । । अध्यक्ष गहतराजले माघ १ गतेबाट ५ लाख भन्दा बढिको बिल नहुने जस्ता सरकारबाट लगाईएको बन्देजका कारण ब्यवसाय गर्न नसकिने अवस्था सृजना हुन सक्ने हुदा गम्भिर बन्न आग्रह गर्नु भयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दिपक कुमार विश्वकर्माले सुन ब्यवसायमा देखिएको समस्यालाई लिएर महासंघले सरकारसमक्ष पटकपटक मागहरु राख्दै आएको उल्लेख गर्दै आगामी दिन कठिन आन्दोलनको बाटो अपनाउनु पर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनु भयो ।
सुन वितरणमा पहिले जस्तो हाल समस्या नभएको बताउदै विश्वकर्माले सरकारी कोटाले मात्र नेपालमा सुनको माग पुरा गर्न नसकेको धारणा राख्नु भयो । कार्यक्रममा संस्थाको प्रगति विवरण पेश गर्दै अध्यक्ष गकुल विश्वकर्माले आफु नेतृत्वमा आएपछि संघका विगतमा कामलाई निरन्तरता दिदै व्यवसायीका समस्याहरुलाई सधै प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
उहाले ब्यवसायीहरुको हकहित र क्षमता अभिवृद्धिमा भएका गतिविधिबारे प्रकाश पार्दै समस्यामा परेका ब्यवसायीलाई सहयोग, सामाजिक उत्तरदायित्व अन्तरगत खेल गतिविधि, राहतकोष स्थापना गरि सहयोग हस्तान्तरण गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य चेतनारायण विश्वकर्मा, पूर्व केन्द्रिय उपाध्यक्ष जोगलाल बिक, पूर्व केन्द्रीय सदस्य एमवी विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, किशोर कुमार सुनार, सिताराम रसाइली, महिला समिति अध्यक्ष किरण विश्वकर्मा, तिलोत्तमा आभूषण संघका सचिव कृष्णबहानुर सुनार लगायत बोल्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष कृष्ण बहादुर सुनारको स्वागत तथा सचिव चुरामणी विकको सञ्चालनमा भएको थियो ।

