बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
उनले आफू नेतृत्वमा आएपछि विकासका विभिन्न आयामहरु पत्ता लगाउँदै र स्रोतको पहिचान गर्दै समृद्धिको यात्रामा अघि बढेको बताए । जनताले सुशासनको अनुभूति गर्न सक्नुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित हुँदै बुटवल उपमहानगरपालिकाले जनताका कामलाई सकेसम्म सहज र सरल बनाउन कोशिस गरिएको बताए ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले बुटवलको न्याय, अनुगमन र राजस्व संकलनमा केकति प्रगति भएको छ ? भन्ने कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको बताइन् । उनले आफू महिला आन्दोलनबाट राजनीतिमा आएकोले निर्वाचित भएपछि उपमहानगरले महिला सशक्तिकरणमा ठूलो धनराशी लगानी गरेको बताइन् । उनले महिलाहरुले सीप सिकेर मासिक तीन लाख सम्म कमाएको चर्चा गर्दै बाटो पीच गरेर, हरियाली र बत्ती बालेर मात्रै विकास नहुँने भन्दै मकै पोल्ने, गिट्टी कुट्ने नागरिकलाई समेत सहयोग गरेको बताईन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद वझा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेललगायतले शुभकामना व्यक्त गर्दै देशभरिका उपमहानगरपालिकाहरुमध्ये बुटवल उपमहानगरपालिकाले समृद्धि र सुशासनमा उत्कृष्टता प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
वक्ताहरुले बुटवल उपमहानगरपालिका ऐतिहासिक, सामरिक, रणनीतिक, व्यापारिक, औद्योगिक, यातायात, स्वास्थ्य, शिक्षा, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल रहेको चर्चा गर्दै बुटवलबासी मात्र नभएर यो नगरसंग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरुले पनि बुटवलको विकासबाट पाठ सिक्नुपर्ने बताए ।
निर्वाचन आचारसंहितालाई दृष्टिगतगरी संक्षिप्त र प्रतिनिधिमुलक अतिथि, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका नेतृत्वगण, सुरक्षा निकाय र बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र कर्मचारीहरुलगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन उपमहानगरपालिकाका योजना शाखा प्रमुख ठगिश्वर पोखरेलले गरेका थिए ।

