Lumbini Rise
बुटवल धागो कारखाना: बिचौलियाको पर्खाल भत्काएर सञ्चालन गर्ने विश्वदीपको घोषणा

बुटवल - औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने गरी सरकारले बुटवलमा सञ्चालन गरेको महत्त्तपूर्ण उद्योग बुटवल धागो कारखाना हाल बन्द छ । उक्त उद्योगमा गरिएको करोडौं लगानी खेर त गयो नै, पटक–पटक निर्वाचित हुने सांसद वा सरकारले समेत ती उद्योग चलाउन पटक्कै ध्यान दिएनन् ।

सयौं स्थानीयलाई रोजगार दिएको र मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याएको यो उद्योग सञ्चालनमा ल्याउन सके यसले लुम्बीनिसँगै सिंगो मुलुकलाई फाइदा पुग्ने देखिन्छ । तर लोकतन्त्र आएपछि पनि यहाँका जनप्रतिनिधिले नचाहेकै कारण उद्योग सञ्चालनमा आउन सकेको छैन ।

कपडा उत्पादनलाई कच्चा पदार्थ उपलब्ध गराई आयात प्रतिस्थापन गर्ने उद्देश्यले बुटवलस्थित औद्योगिक क्षेत्रको जग्गामा बुटवल धागो कारखाना स्थापित भएको हो । नेपालगञ्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने र हेटौँडामा कपडा उत्पादन गरी बजारमा पठाउने यसको उद्देश्य थियो । बुटवलमा २०३९ सालमा खुलेको कारखाना २०६४ सालदेखि उत्पादन र २०६६ सालदेखि पूर्ण रूपमा बन्द छ ।

विश्वदीपको प्राथमिकतामा उद्योग

तर यसपटक रुपन्देही क्षेत्र नं –२ बाट उम्मेदवार बनेका युवा नेता सुवास पाण्डे विश्वदीपले निजी क्षेत्रसँगको सहकार्यमा उक्त उद्योगलाई सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘अब बिचौलियाको पर्खाल भत्काएर भएपनि बुटवल धागो कारखाना सञ्चालन गर्नुपर्दछ । निर्वाचित भएपछि मेरा वरपर कोही पनि बिचौलिया देख्नुहुने छैन,' पाण्डेको भनाइ छ, 'मैले यस क्षेत्रको निःस्वार्थ सेवा गर्नेछु ।’

सरकारले नै भएका कलकारखाना र उद्योगहरू बन्द गरेर युवा पुस्तालाई विदेश जान बाध्य बनाउनु दुःखद भएको पाण्डेले उल्लेख गरे । युवालाई स्वदेशमै राख्न उद्योग कलकारखानाको विकास र उत्पादनमा पहल गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले त्यसका लागि आफू सशक्त रूपमा लाग्ने बताए ।

उद्योग सञ्चालनका लागि लगानी गर्ने वातावरण बन्नुपर्दछ । त्यसका लागि संसद्‌ र सरकारमा प्रतिनिधित्व गर्ने व्यक्तिमा भर पर्ने देखिन्छ । पाण्डे आफ्नो यही दृष्टिकोणका कारण यसपटक आफूले चुनाव जित्ने र स्वदेशमा नै रोजगार सिर्जना गर्ने तथा अर्थतन्त्रलाई उकास्न लागिपर्ने बताउँछन् ।

‘मेरो प्रतिबद्धता हो, म चुनावपछि पनि यही क्षेत्रको विकासका लागि काम गरिरहने छु । यसअघि पनि आफ्नो तर्फबाट सकिने जति प्रयास गरेको नै हो । तर मेरो भूमिका र जिम्मेवारीले दिने जति मात्रै गर्न सकियो, अब यहाँको प्रतिनिधि नै बनेपछि मलाई काम गर्न सहज हुनेछ, नागरिकलाई त्यसले लाभ प्राप्त हुनेछ,' उनको भनाइ छ ।

यस्तो छ सञ्चालनको मोडेल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट यस क्षेत्रका उम्मेदवार पाण्डेले भनेजस्तो बुटवल धागो कारखाना पुनः सञ्चालन गर्न त्यति सजिलो भने छैन । उनको भनाईमा सबैभन्दा पहिले बन्द भएको कारखाना चलाउन निजी क्षेत्रको खस्किएको मनोविज्ञानमा उर्जा भर्नुपर्ने छ । र, प्रोत्साहित हुने कार्यक्रम ल्याउनु पर्नेछ । उम्मेदवार पाण्डेले पनि यसैमा जोड दिने बताएका छन् । पाण्डेले निजी क्षेत्रसँग सार्वजनिक क्षेत्रलाई जोडेर उद्योगलाई सञ्चालनमा ल्याउने बताएका छन् ।

‘म चुनावमा भोट तान्नका लागि मात्र यो बोलेको होइन । निजी–सार्वजनिक साझेदारी अवधारणा अनुरूप बुटवल धागो कारखाना सञ्चालन गर्न सकिन्छ, उनको भनाइ छ, 'बिचौलियाको षड्यन्त्र चिर्ने हिम्मत राख्नुपर्दछ । म राख्छु ।’

सरकारी लापरवाही र बिचौलियाकै चलखेलले कारखाना बन्द भएको उम्मेदवार विश्वदीपको निष्कर्ष छ । उनि भन्छन, ‘निजी क्षेत्रसँगको सहकार्यमा निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप सञ्चालन गर्न सकिन्छ । धागो कारखाना सञ्चालन गर्ने मोडालिटी सहितको प्रस्ताव तयार गरौं । खासगरी बुटवल धागो कारखाना तथा हेटौडा कपडा उद्योगलाई एउटै प्याकेजमा राखेर सञ्चालन गर्न सकिन्छ ।’

उम्मेदवार पाण्डेका अनुसार रुग्ण एवं बन्द भएका उद्योग र त्यसमा पनि धागो कारखानाको प्रविधि पुरानो भएकाले यथास्थितिमा सञ्चालन गर्न सकिँदैन । उक्त उद्योगमा पुनः लगानी गरेर प्रविधिमा स्तरोन्नति गर्नुपर्दछ । त्यसपछि निजी क्षेत्र र वैदेशिक लगानी गर्न चाहने फर्मलाई पीपीपी मोडेलमा सञ्चालन गर्न दिन सकिन्छ । तर यही प्रस्ताव नै निर्विकल्प नभएको उनको भनाइ छ ।

विश्वदीपले भने झैँ यसमा सरकारका अलावा निजी क्षेत्र कस्सिनै पर्ने विगतको अनुभवले देखाएको छ । उनले धागो कारखाना मात्र नभई अरू धेरै उद्योग चलाउनु पर्ने र त्यसका लागि वैदेशिक लगानी भित्र्याउनका लागि आफ्नो सम्बन्ध रहेका अन्तराष्ट्रिय मञ्चहरूसँग संवाद गर्ने बताए ।

उनले सञ्चरकर्मीसँग भने, ‘त्यसले स्वदेशमा थप उद्योग कलकारखाना खुल्ने वातावरण बन्ने छ । जसबाट धेरै रोजगारीका अवसर सिर्जना गर्ने अवसर मिल्ने छ । रोजगारीका लागि वैदेशिक पलायनमा कमी आउने छ ।’

उत्साहित उद्योगी

औद्योगिक क्षेत्र उद्योग संघका पूर्व अध्यक्ष गणेश अधिकारीले धागो कारखाना सञ्चालनका लागि नयाँ प्रविधि थप्नुपर्ने आवश्यकतामा जोड दिए । ‘मार्केट छ, चलाउन सकिन्छ । धागो कारखाना राजनीतिक भर्तीकेन्द्र र दलहरूको खिचातानीले बन्द गराइयो,’ उनले भने, ‘उत्पादन र नाफा घाटाको वास्तै गरिएन । कार्यकर्ता भर्ति गर्दा बिग्रिएको हो ।’ उद्योगी अधिकारीले निजी क्षेत्रको मनोबल उकास्न सक्ने हो भने कारखाना सञ्चालन गर्न सकिने बताए ।

औद्योगिक क्षेत्र उद्योग संघका वर्तमान अध्यक्ष उपेन्द्र अग्रवालले पनि धागो कारखानालाई कार्यकर्ताको भर्तीकेन्द्र बनाइँदा बन्द हुन पुगेको उल्लेख गरे । तर अहिलेकै अवस्थामा कारखाना सञ्चालन हुन नसक्ने भएकाले प्रयोगविहिन रहेको औद्योगिक क्षेत्रको उक्त जग्गा आफूहरूलाई हस्तान्तरण गनुपर्ने बताए ।

उद्योगको पूँजीका लागि स्वामित्व परिवर्तन गरिए धागो कारखाना चलाउन सम्भव भएको उद्योगीहरू बताउँछन् । मेसिनहरू परिवर्तन गरी क्षमता विस्तार गर्ने हो भने कच्चा पदार्थ र बजारको समस्या नहुने उनीहरूको भनाई छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update