बुटवल - अगामि फागुन २१ गते विघटित प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यतिखेर प्रतिनिसभा सदस्य निर्वाचनमा पूरानादेखि नयाँ दलसम्म चुनावी अभियानमा छन् ।
उम्मेद्वारहरु विकासको भाषण मात्रै होईनन्, पूरानाहरुले मेरै पहलमा गरेको विकास भनेर जस लिएका छन् भने नयाँ भनिनेहरु “अब हामी गर्छौ विकास” भनेर प्रचार गरेका छन् । ती पूराना, नयाँ दलका उम्मेद्वारलाई भने बुटवल चौराहादेखि गोलपार्कसम्मको साँढे ३ किमि सडकले गिज्याइरहेको छ ।
आश्चर्य त यो हो की यो सडकको सम्झौतापछि मात्रै २०७४ सालमा तीनतहकै निर्वाचन भएको हो । यो निर्वाचनमा बुटवल चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारलाई देखाएर उम्मेद्वार विजयी समेत भए ।
सडक डिभिजन कार्यालय मातहत रहेको यो आयोजना संघीय सरकार मातहतकै हो । तर, अधुरो यहि सडक २०७९ सालमा स्थानीय तहमा उम्मेद्वार जिताउने ऐजेन्डा नै बन्यो । बुटवल उपमहानगरको निर्वाचनमा तत्तकालिन नेकपा एमालेको पराजयमध्येको एउटा कारण यहि सडक बन्यो ।
रुपन्देही क्षेत्र न. २ बाट लगातार विजय हुँदै आएका विष्णु पौडेलले २०७९ मा प्रतिबद्धता मात्रै गरेका थिएनन, सडक विभागलाई निर्देशन नै दिएका थिए । तर, विघटित प्रतिनिधिसभा निर्वाचनको मुखैमा आउदा समेत यो सडक निर्माणाधिन छ। २०७९ को निर्वाचनमा एमालेका उम्मेद्वार हराएर विजयी भएका नेपाली काँग्रेसका खेलराज पाण्डेयले पनि यहि सडक देखाएर निर्वाचनको माहोल तानेका थिए । यो पटक भने यो बिषयमा काँग्रेस एमाले मात्रै होईन अन्य पार्टीका उम्मेदवार समेत मौन छन् ।
२०७३ चैत १२ मा सम्झौता भएको यो साँढे ३ कमि सडक पटक—पटक म्याद थप गर्दा पनि पूरा हुन नसकेपछि गत वर्ष सम्झौता तोडेर नयाँ निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो ।
द कञ्चनजंघा/बिरुवा जेभीले पटक—पटक म्याद थप गर्दा पनि पूरा नभएपछि २०८१ मा ठेक्का रद्ध गरी बाबुल दर्शन मालिका जेभी भैरहवालाई नयाँ ठेक्का दिइएको थियो । यसले २०८२ असोज मसान्तभित्र सम्पन्न गर्ने भनेपनि यसले पनि समयमा निर्माण पूरा भएन ।
समयमा काम पूरा गर्न नसकेपछि म्याद थप गरेको सडक डिभिजिन बुटवलले जनाएको छ । जोइन्ट भेन्चरमा ठेक्का पाएका बाबुलका मुख्यव्यक्ति तौफिक खाँन रास्वपाबाट रुपन्देही क्षेत्र न. ५ को प्रतिनिधिसभा उम्मेद्धार हुन् भने दर्शन मालिकाका राजन ज्ञवाली एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रचारमा खटिएका छन् ।
आफ्नै नेतामाथि नैतिक प्रश्न उठेको बेला निर्माण व्यवसायीले तोकिएको मितिमा काम सम्पन्न नगरेपछि आलोचना भएको छ । चुनावको मुखैमा निर्माण अधुरो भएपछि उम्मेद्वारहरुको समेत दवावका कारण कामलाई गति दिन थालिएको छ । तर, निर्माण व्यवसायी नै उम्मेद्वार भएकाले थपिएको म्यादमा पनि काम सक्न मुस्किल छ ।
भिजन सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्रका अनुसार ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।
समयमा काम पूरा नहुने बुटवल चौराहा गोलपार्क सडक नेपालकै नमूना हो । ९ बर्षसम्म साँढे ३ कमि सडक पूरा गर्न नसक्दा जनप्रतिनिधिलाई लाजमर्दो बनाएको छ ।
एमालेका उम्मेद्वार पौडेललाई विकासप्रेमि नेताका रुपमा कार्यकर्ताले प्रचार गरेका छन् । यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेललाई पनि काँग्रेसीहरुले विगतदेखि काँग्रेसले गरेको विकाससँग जोडेर हिडेका छन् । यिनीमात्रै होईन युवाको प्रतिनिधित्व गर्ने दावी सहित मैदान उत्रेका नेपाली कम्यूनिष्ट पार्टीका सुभाष पाण्डे“विश्वदीप” , रास्वपाका सुलभ खरेल सहितका उम्मेद्वारले पनि विकासको नारा बोकेर घरदैलौमा पुगेका छन् । जतिसुकै विकासको नारा लगाएपनि बुटवलको ३ किमिको सडकले दलहरुको हैसियत उदाङगो पारेको बुटवलबासीहरुको टिप्पणी छ ।
चुनावको मुखैमा सडक निर्माणको काम त भएको छ तर, यो केवल औपचारिकताका लागि मात्रै भएको कुरा कसैले लुकाउन सक्दैन । अहिले सामाजिक सञ्जालमा अनेक सपना देखाएपनि साँढे ३ कमि सडकले तीन वटा निर्वाचन भोग्नुले उम्मेद्वारको औपचारीक वाचाको मात्रै होईन, सिंगो देशको विकासको मोडेल उदाङगो पारेको छ।
किन ढिला भयो
२०७६ असोजमा काम पूरा गर्ने गरी सम्झौता भए पनि सडक सीमामा रहेका संरचना नहटाउदा दुई वर्ष काम रोकिएको थियो। २०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलो पटक म्याद थप भएको थियो। उक्त अवधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीको निवेदनअनुसार दोस्रो पटक म्याद थप भयो।
२०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो। यसपछि पनि काम नभएपछि तेस्रो पटकका लागि गत वर्षको असोजमा २०८० असार मसान्तमा काम सक्ने गरी अन्तिम पटकका लागि म्याद थप गर्यो ।
साढे तीन किलोमिटर सडक विस्तारका लागि सुरुमा ४७ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्धारित समयमा निर्माण पूरा नभएपछि लागत बढेर ५४ करोडभन्दा बढी पुगेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
पुन रद्ध गरिएको ठेक्का अनुसार बाबुल दर्शन मालिका जेभी भैरहवाले ०८२ असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसले पनि असोजको समय कटाएको छ । अहिले निर्माण सामाग्रीको वाहनामा निर्माणमा ढिलाई गरिरहेको हो ।

