रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सोमवार राती १२ बजेदेखि फागुन २१ गते बिहीवार राती १२ बजेसम्मका लागि सिमानाकाहरु बन्द गरिएको जानकारी दिए । उनका अनुसार मालवाहक गाडी र पर्यटकको गाडीसहित आवागमन हुने रुपन्देहीको मुख्य बेलहिया र साना गाडी आउने गरेको लुम्बिनी–कक्रहवा नाका लगायत सम्पूर्ण सिमा नाका बन्द गरिएका हुन् ।
सीमानाका बन्द गर्ने बारेमा रुपन्देही जिल्लासँग जोडिएको भारतका महाराजगञ्ज र सिद्धार्थनगर जिल्लाका प्रशासनिक काउन्टर पार्टस् बैठक गरिएको थियो ।
‘सिमाना बन्द गरिएपछि अत्याबश्यक बस्तु र अनुमती प्राप्त नागरिक बाहेक अन्य कसैको पनि आवागमन हुन पाउने छैन’, प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘सिमा बन्द गर्दा पनि सिमावर्ती भारतीय सुरक्षा अधिकारीहरुको उपस्थिति सिमानामा थियो ।’ सिमाबन्द गरिएको अवधिमा ग्याँस बुलेट र पेट्रोलियसम पदार्थको गाडी, एम्बुलेन्स र नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटक बाहेक अन्य सामानको ढुवानी तथा आवागमन हुने पाउने छैन ।
यो अवधिमा अत्याबश्यक कामले कोही कसैलाई सिमानाकाबाट आवागमन गर्नु परेमा प्रशासनसँग समन्वय गर्न सकिने छ । कोही विरामी भएमा वा अन्य कुनै खालको अत्यावश्यक काम परेमा त्यसको प्रयोजन खुलाएर त्यसका लागि प्रशासनले सहजिकरणको भूमिका खेल्ने उनले बताए । यस अवधिमा हरेक शनिवार र बुधवार सिद्धार्थनगर २ मेउडिहवाको सिमावर्ती भारतीय भूभाग फरेनियामा लाग्ने गरेको हाटबजार पनि बुधवारका लागि बन्द हुने भएको छ ।
बुधवार लाग्ने फरेतिया बजार बन्द गर्ने वारेमा भारतीय पक्षसँग सहमती भएको छ । नेपालमा हुने निर्बाचन अवधिरभरका लागि भारतीय सुरक्षा निकायले पनि सिमावर्ती क्षेत्रमा सुरक्षा गस्ती बढाउने भएका छन् ।
सीमानाका बन्द पछि सीमा क्षेत्र सुनसान बनेका छन् । दैनिक हजारौं यात्रु र सयौं गाडी ओहोरदोहोर गर्ने रुपन्देहीका सबै नाका सुनसान भएका हुन् ।


