बुटवल - विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं.२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्। निर्वाचन आयोग, नेपालका अनुसार यस क्षेत्रमा पुरुष मतदाता भन्दा महिला मतदाता धेरै छन् ।
पुरुष मतदाता ६४ हजार २५४ जना (४७.५४) प्रतिशत र महिला मतदाता ७० हजार ७९३ (५२.४६) प्रतिशत रहेका छन् भने अन्य मतदाता ३ जना रहेका छन्।
यस निर्वाचन क्षेत्रमा २४ मतदान स्थल र १३८ मतदान केन्द्र तोकिएका छन्। उम्मेदवारतर्फ हेर्दा कुल ३९ जना प्रतिस्पर्धामा छन्, जसमा ३० जना पुरुष र ९ जना महिला उम्मेदवार रहेका छन्। राजनीतिक दलबाट १९ जना र स्वतन्त्रबाट २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
समावेशी दृष्टिकोणले उम्मेदवारहरूको विवरण हेर्दा खस आर्य समुदायका उम्मेदवार सबैभन्दा बढी ६१.२३ प्रतिशत रहेका छन्। त्यसपछि आदिवासी जनजाति ३०.५१ प्रतिशत, दलित ७.६९ प्रतिशत र मधेसी २.५६ प्रतिशत रहेका छन्।
यस क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदाताको उल्लेख्य संख्या र विविध सामाजिक संरचनाले यस निर्वाचन क्षेत्रलाई महत्वपूर्ण प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिएको छ।


