Lumbini Rise
रूपन्देही २ एमाले रास्वपा विवाद : पैसा बाँडेकाे एमाले आराेप, रास्वपा भन्छ-"आक्रमण भयाे"  

बुटवल - बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच बुधबार राती विवाद र धक्कामुक्का भएको छ । इट्टभट्टी टोलमा रहेको नमबुद्ध होटलमा रास्वपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच विवाद भएको हो ।

रास्वपा उम्मेदवार सुलभ खरेल मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै होटलमा एमाले कार्यकर्ताहरु प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ । एमाले कार्यकर्ताहरुले उम्मेदवार खरेल सहितका रास्वपा कार्यकर्ताहरुले आर्थिक चलखेल गर्दै गरेको आरोप लगाएका छन् ।

उता रास्वपा उम्मेदवार खरेलले भने आफुहरु होटलमा बसिरहेका बेला अज्ञात समुह आएर आफ्ना सचिवालयका कार्यकर्तामाथि हातपात गरेको बताएका छन् । होटलमा सामान्य झै झगडा भएको र अहिले अवस्था नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।

मौन अवधिमा होटलमा समुहगतरुपमा बसेर निर्वाचन आचारसंहिताको उल्लंन गरेको एमाले पक्षको आरोप छ । तर, रास्वपा नेता चित्र कार्कीले एमाले कार्यकर्ताले आक्रमण गरेकाे बताएका छन् । उनले आफुहरूमाथि सांघातिक हमला भएकाे बताए । 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update