बुटवल - यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले विजयी हासिल गरेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
निरन्तर रुपन्देही-२ बाट विजयी हुँदै आएका पौडेलको संसदीय यात्रामा यस पटक भने ब्रेक लागेको छ ।
यसैबीच आफू पराजित भएपछि मतदाताहरुलाई आभार व्यक्त गर्दै एमाले उपाध्यक्ष पौडेलले विजेता खरेललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित खरेलले रुपन्देहीलाई बिकास र समृद्धिको यात्रामा अझ उचाईकासाथ अघि बढाउने विश्वास व्यक्त गरेका छन् । ‘आशा छ, तपाईँले यस क्षेत्रका नागरिकका अपेक्षा र भावनालाई कदर गर्दै उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडि बढाउनु हुनेछ भन्ने अपेक्षा राख्दछु ।’-पौडेलले भनेका छन् ।
‘निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया मात्र हो । तर, मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं. २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो ।
यो माटोको माया र यहाँका मानिसहरूको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।’-उनले अगाडि भनेका छन्, ‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख-दुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ ।
यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।’
उपाधयक्ष पौडेल खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका हुन् । देशभर एमालेले भोग्नु परेको अप्रत्यासित नतिजाको विषयमा छिट्टै समीक्षा हुने उनले बताएका छन् । एमालेको नेतृत्व र नीति बारे छिट्टै छलफल गरिने उनको भनाई छ ।


