बुटवल- प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टीका घनश्याम यादवले दुई हजार १९८ मत, श्रम संस्कृतिका छविलाल गुरुङले एक हजार ८२४ र जनता समाजवादी पार्टीका मोहम्मद अस्लाम खानले एक हजार २४२ मत प्राप्त गरेका छन् । अन्य कुनैपनि उम्मेदवारले एक हजार मत प्राप्त गर्न सकेनन् ।
३१ जना उम्मेदवार रहेको यस क्षेत्रमा निकटतम प्रतिष्पर्धी कांग्रेसका खत्रीबाहेक अरू सबैको जमानत जफत भएको छ । लम्सालले संसदको यात्रा तय गर्दैगर्दा यस अघिका सबै रेकर्ड तोडेका छन् । वि सं २०७४ को निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको मतलाई उनले तोडेका छन् । तत्कालीन अवस्थामा विश्वकर्माले ३४ हजार ७५२ मत प्राप्त गरेका थिए, जुन लम्सालले सहजै तोडेका छन् ।
त्यसैगरी मतान्तरमा पनि उनले रेकर्ड राखेका छन् । यसअघिको ७ हजार ८६७ को मतान्तरमामा ब्रेक लगाउँदै लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर बनाउन सफल भएका छन् ।


