बुटवल - लुम्बिनी प्रदेशमा रास्वपाले कुल २६ सिटमध्ये २१ सिटमा जित हासिल गरेको छ । स्थापित नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी र राप्रपालाई पराजित गर्दै रास्वपाले ऐतिहासिक जित हासिल गरेको हो । रास्वपाले लुम्बिनीका १२ मध्ये ८ जिल्ला क्लिनस्विप पारेको छ ।
यसअघि ठूला भनिएका दलमध्ये नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २–२ क्षेत्र जितेका छन् भने नेकपा एमालेले एउटा मात्रै निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । रास्वपाले प्रदेशका १२ जिल्ला मध्ये रास्वपाले एकभन्दा बढी निर्वाचन क्षेत्र भएका रुपन्देही, दाङ, नवलपरासी, गुल्मी र बर्दियामा क्लिन स्विप गरेको छ ।
रास्वपाले नवलपरासी पश्चिमका दुवैै क्षेत्र, रुपन्देहीका ५ वटा क्षेत्र, गुल्मीका दुई क्षेत्र, दाङका तीनवटै क्षेत्र, अर्घाखाँची, प्यूठान, पाल्पाको एक क्षेत्र, कपिलवस्तुका दुई, बाँकेका दुई र बर्दियाका दुवै क्षेत्र जितेको छ ।
नेपाली कांग्रेसले कपिलवस्तु–३ र पाल्पा–१ मा जितेको छ । नतिजाको हिसाबले नेकपा एमालेले लुम्बिनीमा ठूलो क्षती भोगेको छ । आफ्नो आधार इलाका र किल्ला भनिएको क्षेत्रमै निर्वाचनमा हार भोगेका छन् ।
नेकपाले जनयुद्धको आधारभूमि रोल्पा र रुकुममा आफ्नो विरासत जोगान सफल भएको छ । यी दुई जिल्लामा नेकपाका प्रभावशाली नेताहरुले सहज जित निकालेका छन् । रुकुम पूर्वमा नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रोल्पाबाट बर्षमान पुनले जित हासिल गरेका छन् ।
नेकपा एमालेले बाँके–२ मा मात्र जितेको छ । बाँके २ मा निर्वाचित इस्तियाक राई निर्वाचनको मुखैमा प्रवेश गरेका हुन् । उनी पूरानो एमाले होईनन । प्रदेशमा विगत लामो समयदेखि निर्वाचन जित्दै आएका नेताहरु पराजित भए । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल निकै फराकिलो मतान्तरले पराजित भए । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले पौडेललाई ४३ हजार बढिको मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनको परिणामले इतिहासमै पहिलो पटक स्थापित दलहरुले नराम्रो पराजय भोगेका हुन् । रास्वपाबाट भने पराकिलो मतान्तर सहित नयाँ मानक स्थापित गरेका छन् । रुपन्देही क्षेत्र न. १ बाट रास्वपाका महामन्त्री सुनिल लम्साल निर्वाचित भएका छन् । यस्तै रुपन्देही ३ बाट चिकित्सक पृष्ठभूमिका डा.लेखजंग थापाले निकै पराकिलो मतान्तरले जितेर नयाँ रेकर्ड कायम गरेका छन् ।
थापाले ५८८१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुशिल गुरुङले ८ हजार ४३५ मत ल्याएर पराजित भए । थापाले ५० हजार ३७९ को मतान्तरले विजयी हुने सम्भवत पहिलो सांसद बनेका छन् ।
हेभिवेटको पराजय
लुम्बिनीमा १२ जना पूर्वमन्त्री र दुई जना पूर्वमुख्यमन्त्री पराजित भएका छन् । यसअघि पटक–पटक निर्वाचन जित्दै मन्त्री बनेका धेरै अनुभवी नेताहरू यस पटक पराजित मात्र भएनन्, धरौटीसमेत जफत भयो । प्रदेशका विभिन्न जिल्लाबाट १४ जना पूर्वमन्त्री र दुई पूर्व मुख्यमन्त्री प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट पराजित भए । त्यस्तै दाङ क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी पनि पराजित भए । माओवादीबाट प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका केसी यस पटक स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए । उनको धरौटी समेत जफत भएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पटक–पटक मन्त्री बनेका विष्णु प्रसाद पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार सुलभ खरेलले विशाल मतान्तरले पराजित गरे । पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्दा खरेलले ५६ हजार ५६० मत पााए । २०६४ सालदेखि निरन्तर जित्दै आएका पौडेलको संसद् यात्रामा २८ वर्षीय खरेलले ‘ब्रेक’ लगाएका हुन् । नवलपरासीमा पटक–पटक चुनाव जितेर मन्त्री बनेका हृदयेश त्रिपाठी यस पटक मतदाताबाट अस्वीकृत भए ।
यस्तो छ लुम्बिनीमा विजयीहरुको तथ्यांक

सोही जिल्लाको क्षेत्र नम्बर २ मा राप्रपाका ध्रुवबहादुर प्रधान पनि चौथो स्थानमा खुम्चिए । रुपन्देही क्षेत्र नम्बर ४ मा पटक–पटक निर्वाचन लड्दै आएका सर्वेन्द्रनाथ शुक्ला पनि यस पटक पराजित भए । शुक्ला पनि पूर्वमन्त्री हुन् । जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका उनले जम्मा ३ हजार ४१० मत प्राप्त गरे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया २८ हजार ६६६ मतसहित निर्वाचित भए ।
गुल्मीमा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्रीद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली दुवै जना पराजित भए । गुल्मी–१ मा ज्ञवाली र गुल्मी–२ मा विष्ट उम्मेदवार थिए । पाल्पा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय पनि पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापा सो क्षेत्रबाट निर्वाचित हुँदा पाण्डेयले जित्न सकेनन ।
बर्दिया क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सञ्जयकुमार गौतम पनि पराजित भए । उनी तेस्रो स्थानमा सीमित रहे । त्यसैगरी दाङ क्षेत्र नम्बर १ मा पूर्वसहरी विकासमन्त्री मेटमणि चौधरी चौथो स्थानमा खुम्चिए भने दाङ क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी पनि पराजित भए ।
कपिलवस्तु क्षेत्र नम्बर २मा कांग्रेसबाट निर्वाचित भई मन्त्री बनेका सुरेन्द्र आचार्य यस पटक पराजित भए । सोही क्षेत्रमा विगतमा विभिन्न दल परिवर्तन गर्दै चार पटक सांसद बनेका पूर्वमन्त्री बृजेश कुमार गुप्तालाई पनि मतदाताले अस्वीकार गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम सिंह थापाले भारी मतान्तरले पराजित गरे ।
-याे समाचार खस्याैली साप्ताहिकमा प्रकाशित छ ।


