बुटवल - नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत चलाइएका ‘मिडिया ट्रायल’ र फैलाइएका भ्रममा नपर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आम निर्वाचनको परिणामपछि विभिन्न माध्यमबाट पार्टी नेताहरूको नाम जोडेर फैलाइएका भ्रमपूर्ण प्रचारमा नफस्न कार्यकर्ता र समर्थकलाई सचेत रहन आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई अनुरोध गर्दछु।’
महासचिव पोखरेलका अनुसार हाल पार्टीले देशभरका सबै निर्वाचन क्षेत्रको परिणामको समीक्षा प्रक्रिया सुरु गरिसकेको छ। उनले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्र को नतिजा समेटेर चरणबद्ध रूपमा विश्लेषण भइरहेको जानकारी दिएका छन्।
उनले क्षेत्रगत समीक्षा सकिएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा पार्टीले गर्ने जनाएका छन् । ‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ’ उनले लेखेका छन्।
महासचिव पोखरेलले पछिल्लो आम निर्वाचनको परिणाम एमालेका लागि अपेक्षाअनुसार सुखद नभएको पनि स्वीकार गरेका छन्। उनले चुनावी नतिजाबाट पाठ सिक्दै पार्टीलाई अझ सुदृढ बनाउनेतर्फ नेतृत्व केन्द्रित हुने बताएका छन्।
‘आम निर्वाचन २०८२ को परिणाम हाम्रा लागि सुखद रहेन’ उनले लेखेका छन्,‘तर विगतका गम्भीर संकट र चुनौतीहरूलाई सामना गर्दै हाम्रो पार्टी यहाँसम्म आइपुगेको हो। अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै हामी पुनः थप मजबुत भएर अघि बढ्नेछौँ।’
पोखरेलले पार्टीभित्र एकता कायम राख्दै जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले कार्यकर्तालाई एकताबद्ध भएर काम गर्न आह्वान गर्दै त्यसो गर्न सके भविष्यमा पार्टीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले लेखेका छन्,‘जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिऔँ। एकताबद्ध भएर काम गर्यौँ भने हामी अवश्य सफल हुनेछौं।’
पछिल्लो चुनावी परिणामपछि एमालेभित्र समीक्षा र आत्ममूल्यांकनसहित नेतृत्वमाथि नैतिक प्रश्न उठिरहेको बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।


