Lumbini Rise
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ - आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ।  दिवसका अवसरमा आज काठमाडौँमा राष्ट्रिय दलित आयोगसहित संघसंस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।

नेपालमा यो वर्ष 'दलित समुदायको न्यायमा पहुँचका लागि राज्यसंरचनाको प्रभावकारी परिचालन' भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए। 

उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्धनगरसम्म सचेतनामूलक र्‍याली निकालिने छ भने बुद्धनगरमा पुगेर सभामा परिणत हुनेछ। 

कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ। त्यस्तै, दिवसकै अवसरमा दलित मुक्ति आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण शहिद तथा योद्धाहरुको स्मरणमा साँझ ५:३० बजे माइतीघर मण्डलामा दीपप्रज्वलन कार्यक्रम राखिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाइमा उक्त कार्यक्रम राखिएको हो।

सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।

नेपालमा सन् २००१ देखि यो दिवस मनाईंदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रुपमा अनुमोदन गरेको थियो । २०६२/०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनस्स्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्‍यो। त्यसको पाँच वर्षपछि  २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो।

जातीय विभेद गर्नु कानुनतः दण्डनीय भएपनि व्यावहारिक रूपमा कानून कार्यान्वनयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन्।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update