बुटवल– बुटवल उपमहानगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुनी सचेना जगाउने उदेश्यले सूचनाबोर्ड स्थापना गरेको छ । ६१ औं अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर उपमहानगरपालिकाले शनिबार सूचना बोर्ड स्थापना गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरको प्राङगणमा सूचना बोर्ड उद्घाटन गरे । उनले कानुनमा भएका प्रावधान कागजमा मात्रै सिमित नहोस् भन्नका लागि उपमहानगरपालिकाले कार्यालयमै सूचना बोर्ड स्थापना गरेर नयाँ अध्यायको सुरुवात गरेको बताए । उनले बुटवल सबैको हो भन्ने भावना जागृत गराउँदै दलित समुदायमाथि हुँदै आएको छुवाछुत अन्त्य गर्न लाग्ने बताए ।
उनले बुटवल उपमहानगरले सूचनाबोर्डसँगै सिप तथा विभिन्न सचेतनाका कार्यक्रम मार्फत आत्मनिर्भर बनाएको बताए । यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले संविधानमा भएका बिषयहरुलाई सूचना बोर्ड मार्फत सर्वसाधरणलाई जानकारी गराउन सूचना बोर्डले प्रभावकारी काम गर्ने बताईन ।
जातीय छुवाछुत कानुनी रुपमा दण्डनिय भएपनि व्यवहारमा देखिएकाले सेवाग्राहीले देख्ने गरी बुटवल उपमहानगर सहित १९ वटै कार्यालयमा सूचना बोर्ड स्थापना गरिएको हो । बार्षिक कार्यक्रम अनुसार नगरप्रमुख, उपप्रमुख दलित समुदायका तर्फबाट कार्यपालिका सदस्यहरु यामबहादुर सुनार, कृष्ण बहादुर सुनार, सुनिता खडलुक र बसन्ती विकको पहलमा सूचना बोर्ड स्थापना भएको हो ।
सूचना बोर्डमा जातीय भेदभाव र छुवाछुतसम्बन्धी जानकारी, छुवाछुत हुँदा हुने दण्ड जरिवना तथा उजुरी गर्ने निकायहरु उल्लेख गरिएको छ । कानुनले जातीय भेदभाव र छुवाछुतलाई दण्डनीय बनाएपनि यसबारे धेरै नागरिकले थाहा नपाएकाले सूचना बोर्डले विभेद अन्त्यमा सकरात्मक भूमिका खेल्ने अपेक्षा जनप्रतिनिधिहरुले राखेका छन् ।
यसअघि २१ मार्चका सन्दर्भममा आयोजित छलफल कार्यक्रममा राजनतिक पार्टीका तर्फबाट जसपा नेपालका सावित्रादेवी अर्याल, नगर प्रवक्ता शिव राना, कार्यपालिका सदस्य कृष्ण बहादुर सुनार, दलित नगर उत्थान समिति बुटवलका उपाध्यक्ष रवि विक, नेपाली कम्यूनिष्ट पार्टी बुटवल नगर संयोजक महेन्द्र भुसाल, रास्वपाका नगरसभापती राजन पाण्डेय, दलित नेताहरु जोगलाल विश्वकर्मा, लोकबहादुर नेपाली, अधिवक्ता दीपा सुनार लगायतले बोल्दै जातीय भेदभाव राज्यको समस्या रहेकाले अन्त्य गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।


