Lumbini Rise
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीद्वारा ३६६ दिने कार्यसम्पादन सार्वजनिक

बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले ३६६ दिनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेकी छन् । जनताप्रति जनप्रतिनिधि जवाफदेही हुनुपर्ने भन्दै सदनमा उठाएका प्रमुख मुद्दा र कार्यान्वयनको अवस्था सहितको रिर्पोट कार्ड बुधबार सार्वजनिक गरेकी हुन् ।

नेपाली काँग्रेस प्यूठानबाट समानुपातिक सांसद बनेकी गिरीले आफू अधिकांश प्रदेशसभाको बैठकमा उपस्थित भएको बताएकी छन् । उनले सार्वजनिक गरेको प्रतिवेदनमा १८ दिन सदन बसेकोमा १५ दिन उपस्थित  भएको उल्लेख छ ।  

त्यस्तै, सदन चलेको १८ दिनमध्ये ३४८ दिन (९५प्रतिशत) सदन नचलेको र १८ दिन (५ प्रतिशत) मात्र सञ्चालन भएको उल्लेख गरिएको छ । उनले यस अवधिमा ५ पटक बोल्दै कुल ४५ मिनेट समय लिएकी रिर्पोट कार्डमा उल्लेख छ ।  

गिरीले सदनमा सुशासन तथा पारदर्शिता, सामाजिक न्याय तथा कल्याण, कानुन, सुरक्षा तथा सुधार, र सामाजिक अभियान तथा नवप्रवर्तन लगायतका विषयहरू उठाएकी छन् । नागरिकता समस्या, स्वास्थ्य बीमा, दलित तथा पछाडि परेका वर्गको समावेशिता, कर्मचारी सरुवा प्रणाली सुधार, सार्वजनिक सम्पत्तिको संरक्षण जस्ता मुद्दामा उनले आवाज उठाएकी हुन् ।  

त्यसैगरी, नीतिगत तथा शासकीय सुधार, पूर्वाधार विकास, आर्थिक तथा बजेट सम्बन्धी विषय, र शिक्षा तथा सामाजिक विकास क्षेत्रमा पनि उनले विभिन्न प्रस्ताव राखेकी छन् ।  सडक, पुल, नहर निर्माण, रोजगारी सिर्जना, बजेटमा समानता, विद्यालय कर्मचारी सुविधा, विद्यार्थी ड्रपआउट समस्या समाधान जस्ता विषयहरू प्राथमिकतामा परेका छन् ।  

उनले केही योजनाहरू कार्यान्वयन चरणमा रहेको पनि जानकारी दिएकी छन्। “मेरो विद्यालय मेरो दायित्व” कार्यक्रम निरन्तर सञ्चालनमा रहेको, प्रदेश आयोजना बैंकको कार्यविधि निर्माण भइरहेको, प्रदेश विकास परिषद गठन भइसकेको, र जेनजी पुस्तालाई रोजगारीमा प्राथमिकता दिने योजना अघि बढेको उल्लेख छ ।

गिरीले आफ्नो कार्यकालमा उठाएका मुद्दाहरू कार्यान्वयनमा लैजान निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा जनताको अपेक्षा अनुसार थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । गिरीले यसअघि पनि रिर्पोट कार्ड सार्वजनिक गरेकी थिईन । 


 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update