Lumbini Rise
लुम्बिनी प्रदेश सभामा संघीय र प्रदेश सरकारका कामबारे छलफल

दाङ - लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठकमा  बुधबार संघीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । 

प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई हिरासतमा लिनु गैरकानुनी भएको दाबी गर्दै उनले बिनासर्त रिहा गर्न माग गरे । जेनजी आन्दोलनपछि प्रदेश सरकार अलमलमा परेको र जाँगर तथा आँट सुस्ताएको जस्तो देखिएको उनले टिप्पणी गरे ।

संघीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उनको धारणा थियो । प्रदेश सभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको सन्दर्भमा प्रदेशको सम्पत्ति जोगाउनेहरूप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले संविधानको मर्म र घोषणापत्र अनुसार काम गर्न सुझाव दिँदै द्रुत मात्र होइन, निष्पक्ष कारबाही आवश्यक रहेको बताइन् । कार्की आयोगको प्रतिवेदनमाथि छलफल नै नभई गृहमन्त्री नियुक्त भएको एक घण्टामै पक्राउ सुरु हुनु प्रतिशोधपूर्ण भएको उनको आरोप थियो ।

प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन संघीय सरकारसँग आग्रह गरे । साथै, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी विकास कोषमा भएका राजनीतिक नियुक्ति खारेज गरी स्थानीयलाई जिम्मेवारी दिनुपर्ने उनले माग राखे ।

प्रदेश सभा सदस्य इन्द्रकुमारी गहतराजले जेनजी आन्दोलनमा घुसपैठका कारण अप्रत्याशित क्षति भएको बताइन् । सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुरा व्यवहारबाट देखिनुपर्ने उनको भनाइ थियो । 

प्रदेश सभा सदस्य यमबहादुर नेपाली सार्कीले दलित अधिकार विधेयकलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए । करिब ७ लाख ३५ हजार नागरिकसँग सम्बन्धित यस विधेयकलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठले किसानका लागि मल र बीउको समस्या पटक-पटक उठाउँदा पनि समाधान नहुँदा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए  । प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारी लोकतान्त्रिक मूल्य, संविधान र नागरिक स्वतन्त्रताको विपक्षमा रहेको टिप्पणी गरे ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिँदै चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालन भइरहेका आयोजनाबारे जानकारी दिए । प्रदेशका नागरिकले सहज सेवा पाउने गरी सामूहिक भावनाबाट काम अघि बढाइने उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update