बुटवल- कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो ।
उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले बायु प्रदुषण त गरिरहेको छ नै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ । यसैलाई मध्येनजर गरेर विशेष गरी नवउद्यमीकालागि उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष (वाणिज्य उपाध्यक्ष) विमलराज भट्टराईले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले पनि कार्वन उत्सर्जन न्यूनिकरण गर्न सकिने बताए। उनले उद्योग व्यवसायमा हुने साना साना कुराको सुधारले उत्पादन लागतलाई समेत घटाउन मद्धत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ‘क्रिएटिभ ग्रीन इकानोमी’ अवधारणाअन्तर्गत हस्तकला उत्पादनमा वातावरणमैत्री अभ्यास अपनाउने, कार्बन उत्सर्जन घटाउने र स्थानीय स्रोतको प्रयोग बढाउने विषयमा स्टोरी साईकलका सौरभ ढकालले जानकारी गराएका थिए ।
जलवायु परिवर्तनसँग सम्बन्धित नेपाली हस्तकलाको दिगोपन प्रवद्र्धन गर्नका लागि पनि कार्वन उत्सर्जन न्यूनिकरण उपयोगी हुने साना हस्तकलाकी उसा पनले बताईन् ।
कार्यक्रममा ‘लाइफ साइकल असेस्मेन्ट’ मार्फत उत्पादनदेखि प्रयोग र पुनःप्रयोगसम्मको कार्बन प्रभाव मापन गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो । साथै, मानिस, पृथ्वी, नाफा, उद्देश्य र स्थानको अवधारणालाई आत्मसात गर्दै दिगो उत्पादन र बजार विस्तारमा जोड दिइएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताए ।
स्टोरी साईकलका निश्चल वली र साना हस्तकलाकी रोजिना थापाका अनुसार यसबाट नेपाली हस्तकला अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने, कार्बन क्रेडिटबाट आम्दानी गर्न सकिने जस्ता लाभ लिन सकनेछ ।
साना हस्तकलाको कार्वन म्यापिङको उदाहरण प्रस्तुत गर्दै समुहगत रुपमा हस्तकला, खाद्यबस्तु, धातुजन्य बस्तु, पर्यटन लगायतका व्यवसायमा कार्वन म्यापिङ गरिएको थियो ।

