बुटवल- पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । । भिजन लुम्बिनी लिमिटेडल ७० करोड लागतमा आयोजना बन्न लागेको हो ।
भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तिनाउ खोला साना जलबिद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुने भएको छ ।
आयोजना र लुम्बिनी विकास बैंकसँग लगानी सम्झौता गरी लगानी स्रोत सुनिश्चितता भइसकेको भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोख्रेलले बताए । उनले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए ।
यसमा बैँक र संस्थाको ५०–५० प्रतिशत लगानी रहने छ । आयोजनामा लगानी गर्न पोखरेलले पाल्पा तथा रुपन्देहीबासीलाई आग्रह पनि गरे ।
‘यो आयोजना यस क्षेत्रका जनताको हो’, पोखरेलले भने – ‘बुटवलबासीलाई लगानी गर्न यो आयोजना अवसर पनि हो । छिटो सम्पन्न भएर यो आयोजना सञ्चालनमा आउनेछ,हामीले यसअघि बिभिन्न प्रकारका १२ वटा आयोजनाहरु सफल बनाइसकेका छौँ ।’
भिजन लुम्बिनी लिमिटेडको हालको लगानी करिब १४ करोड छ । राइट शेयर र आइपिओ खोल्ने तयारी गरिएको छ भने यसपछि भिजनको पुँजी ५१ करोड पुग्ने अध्यक्ष पोखरेलको भनाई छ ।
हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएर अब निर्माणको शिलान्यास मात्रै बाँकी छ । भिजनले केहिसमय अगाडि पोखरा कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
भिजनले बज्रमादी ३१ मेगावाट,चमेलिया २० मेगावाट लगायत अहिले १२ वटा ठूलो प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ । लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले महाकाली र कर्णालीमा पनि ठूला हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए ।
साना–साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको छ । भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी, कृषि, शिक्षा, इन्स्योरेन्स, बित्त, रियल स्टेट र आईटी क्षेत्रमा समेत लगानी गरिसकेको छ ।
विक्रम संवत् २०७३ सालबाट शुरू भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजेको संचालक कुलबहादुर केसीले बताए ।
कार्यक्रममा लगानीकर्ता योगेश घिमिरे,अनुपमान सैजू,गोबिन्दप्रसाद लामिछाने,भिजन लुम्बिनीकी ब्यवस्थापक सरस्वती पोखरेलले आयोजनाका लागि सबैको साथ आवश्यक रहेको बताए ।

