Lumbini Rise
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन

तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

फार्मेसीमा सेवाग्राहीलाई प्रत्येक औषधि र औषधिजन्य सामग्रीको अधिकतम खुद्रा बिक्री मूल्य -एमआरपी) मा कम्तिमा २५ दशमलव १० प्रतिशत छुटको व्यवस्था मिलाइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । बिरामीले एक पटकमा बढीमा ३ महिनासम्मको औषधि खरिद गर्न सक्नेछन्।

फार्मेसी सञ्चालनका लागि नगरपालिकाले बुट्स मेडिको प्रा.लि. सँग ५ वर्षका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार औषधि बिक्री स्थलको वार्षिक २ लाख ५० हजार रुपैयाँ घर भाडा नगरपालिकाले व्यहोर्ने छ भने अन्य सम्पूर्ण व्यवस्थापनको जिम्मा बुट्स मेडिको प्रा.लि. ले गर्नेछ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले पालिकाबाट सञ्चालन गरिएको यस्तो औषधि पसल सम्भवतः नेपालमै पहिलो भएको दाबी गरे । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने योजना अघि सारेको छ । चालू आर्थिक वर्षको नीति कार्यक्रम अनुसार फार्मेसी सञ्चालनमा ल्याइएको नगर उप प्रमुख जोगेश्वरीदेवी चौधरीले बताइन् ।

नगरपालिकाले भौतिक विकाससँगै मानविय विकासलाई समेत प्राथमिकता दिँदै विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् । फार्मेसीमा औषधि व्यवस्था विभागबाट नेपालमा बिक्री वितरणको लागि अनुमति प्राप्त स्वदेशी तथा विदेशी औषधि उत्पादक कम्पनीबाट उत्पादित सबै प्रकारका औषधि तथा औषधिजन्य सामग्री उपलब्ध हुनेछन् । फार्मेसीका म्यानेजिङ डाइरेक्टर बसन्त जिसीले सेवाको गुणस्तर कायम राख्दै सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउने बताए ।

नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामीलाई सहज सेवा दिने उद्देश्यले फार्मेसीको अवधारणा अघि सारिएको बताए । यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन सहयोग पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update