बुटवल- काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर चलाएपछि त्रसित रुपन्देही बुटवलका भूमिहिन अव्यवस्थित बसोबासीहरुले आईतबार विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुटवल १७ रानीगञ्जमा विरोध प्रदर्शन गरेका हुन् ।
डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासी व्यवस्थापन गर भन्दै विभिन्न प्लेकार्ड सहित सडकमा उत्रिएर उनीहरुले सरकार विरुद्ध नाराबाजी गरे । बालेन तिम्रो पाराले दुःख पाए साराले, गरिबलाई बाँच् दे, डोजर होईन समाधान दे, गाँस–बास–कपासको सुनिश्चित गर, डोजर आतंक बन्द गर, बालेन सरकार राजीनामा दे लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
बुटवल वडा १७ र १८ मा मोतीपुर औद्योगिक क्षेत्रका नाममा बस्ती समेत समावेश गरी औद्योगिक क्षेत्रका नाममा लालपूर्जा बनेकाले यहाँका बासिन्दा त्रसित बनेका हुन् । बैशाख १४ गते बालाजु औद्योगिक क्षेत्रले आफ्नो जग्गा क्षेत्रमा बसोबास गरेकाहरुलाई हटाउने खालको सूचना सार्वजनिक गरेपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
२७ सालदेखि र अधिकांश २०५७ सालदेखि बसोबास गर्दै आएको क्षेत्रमा २०७३ सालमा आफूहरुलाई थाहै नदिई औद्योगिक क्षेत्रका नाममा लालपूर्जा दिएकोमा आपत्ति जनाउँदै बस्ती नहटाउन माग गरेका हुन् ।
बस्ती बचाउ संरक्षण समितिका संयोजक छवि रास्कोटीले आफूहरुले युवा प्रधानमन्त्री बालेन शाहसँग धेरै अपेक्षा गरेको भएपनि अहिले आफूहरुकै जस्ते सुकुम्बासीहरुको बस्तीमा डोजर लगाएर निरंकुश काम गरेको बताए । प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक रास्कोटीले आफूहरुले सार्वजनिक ठाउँ हडपेर नबसेको बताउँदै सुख शान्तिसँग बस्न वातावरण मिलाउन आग्रह गरे ।
समितिका तर्फबाट बुटवल उपमहानगरपालिकालाई आफूहरुको मागको सुनुवाई नगरी बस्ती नहटाउन माग गर्दै नगरप्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्र बुझाएका छन् । उनले ज्ञापनपत्र बुझ्दै औद्योगिक क्षेत्र बन्दा बस्ती जोगाएर मात्रै बनाउने गरी समझदारी गरेको बताए । उनले बस्तीलाई असर नगर्ने गरी काम गर्ने गरी स्थानीय जनप्रतिनिधिका रुपमा काम गरेको बताए ।
रानीगञ्ज मोतिपुर क्षेत्रमा मात्रै ३ हजार घरधुरी प्रभावित हुने अनुमान छ । रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समेत गरी करिब ८० हजार परिवार छन् ।
सकुम्बासी अव्यवस्थित बसोबासीहरुले रानीगञ्जमा गरेको प्रदर्शनमा हजारांै सहभागी थिए । मागको सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने बस्ती संरक्षण समितिका सल्लाहकार टंकप्रसाद न्यौपानेले बताए ।

