Lumbini Rise
सुकुम्बासीहरुले २४ गते बुटवलमा सरकार बिरुद्ध प्रर्दशन गर्ने 

बुटवल- वर्तमान सरकारले देशैभर सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई हटाउने तयारी गरेपछि बुटवलमा आन्दोलनको घोषणा गरिएको छ । 

नेपाल भूमिहिन सुकुमबासी अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार पहिलो चरणमा बैशाख २४ गते बुटवलमा बृहत विरोध प्रदर्शन गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए । 

उनका अनुसार रुपन्देही जिल्लाभरीका अव्यवस्थित बसोबासी, भूमिहिन र सुकुम्बासीहरुको सहभागितामा सरकारको कदम विरुद्ध प्रदर्शन हुनेछ । वर्तमान बालेन नेतृत्वको सरकारले काठमाडौं सहित देशैभर डोजर आतंक सृजना गरेको भन्दै आफ्नै देशभित्र बस्न नपाउने अवस्थाका विरुद्ध सडकमा उत्रन बाध्य भएको उनले बताए ।

'२० औं हजारको सहभागितामा विरोध प्रदर्शन हुन्छ, यसपछि पनि सरकारले नसुने कडा संघर्षमा उत्रनेछौं' पौडेलले भने । उनले प्रजातान्त्रिक आन्दोलनदेखि बुटवले इतिहास बनाएको हुँदा सरकारको कदमको प्रतिकारका रुपमा जनप्रदर्शन गरिने बताए । आइतबार मात्रै बुटवल माेतिपुर रानीगञ्ज क्षेत्रका सुकुम्बासीहरुले प्रर्दशन गरेका थिए । 

लुम्बिनी प्रदेशमा ३ लाख भन्दा बढी सुकुम्बासीहरु रहेकाले अब आफूहरुमाथि भएको अन्यायका विरुद्ध उभिने संयोजक पौडेलको दावी छ ।बुटवलमा २० हजार र रुपन्देहीमा ७० हजार बढी अव्यवस्थित बसोबासी, भूमिहिन र अव्यवस्थित बसोबासी रहेको अनुमान छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update