बुटवल - नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।
बुटवलमा बिहीबार आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि कदम नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। क्षेत्रीले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताउनुभयो।
जनप्रतिनिधिको भूमिकालाई निष्क्रिय बनाउँदै “चोर बाटो”बाट कानुन लाद्ने प्रयास जनमतको अपमान भएको उहाँको भनाइ थियो। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत शक्ति केन्द्रित गर्ने प्रयासले शक्ति पृथकीकरणको सिद्धान्तमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै उहाँले संविधानको मर्म, संस्थागत सन्तुलन र लोकतान्त्रिक प्रणालीको रक्षा गर्न कांग्रेस दृढतापूर्वक उभिने बताउनुभयो।
“संविधानको आत्मा भनेकै शक्ति सन्तुलन हो। जब सरकारले संवैधानिक निकायहरूलाई नियन्त्रणमा राख्ने उद्देश्यले अध्यादेशको दुरुपयोग गर्छ, त्यसले अधिनायकवादलाई प्रश्रय दिन्छ,” क्षेत्रीले भन्नुभयो, “नेपाली कांग्रेस लोकतन्त्र र संविधानमाथि हुने कुनै पनि प्रहारविरुद्ध चट्टानझैँ उभिन्छ।” सुकुम्वासी बस्तीमाथिको बल प्रयोगप्रति पनि उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
सुकुम्वासी समस्याको समाधान दमन, डोजर र त्रासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापनामार्फत मात्रै दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राख्नुभयो। राज्य नागरिकको अभिभावक बन्नुपर्नेमा डर र असुरक्षा फैलाउने माध्यम बन्दै गएको भन्दै उहाँले सुशासनको वास्तविक अर्थ नागरिकको मौलिक अधिकारको संरक्षण भएको स्पष्ट पार्नुभयो।
नेपाली कांग्रेसको ‘जरा अभियान’की केन्द्रीय प्रतिनिधिसमेत रहनुभएकी क्षेत्रीले कांग्रेस अब लोकतन्त्र कमजोर पार्ने गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो। जनहितका सकारात्मक कानुन निर्माणमा कांग्रेस सधैँ सहयोगी रहने तर संविधान, संसद र नागरिक अधिकारविपरीत आउने हरेक कदमको सदनदेखि सडकसम्म सशक्त प्रतिवाद गरिने उहाँको अडान थियो।
क्षेत्रीको स्पष्ट, तार्किक र ओजपूर्ण अभिव्यक्तिले नेपाली कांग्रेस लोकतन्त्र, संविधान र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएको सन्देश दिएको छ।

