बुटवल - तिलोत्तमा नगरपालिकाले सामाजिक समावेशिकरण तथा समानताका लागि जातीय अन्तरघुलन कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले जातका आधारमा हुने विभेद अन्त्य गरी सभ्य र समतायुक्त नगर बनाउने उदेश्यले अन्तरघुलन अभियान सुरुवात गरेको हो ।
अन्तरघुलन कार्यक्रमको बुधबार तिलोत्तमाको वडा न. ७ बाट शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले समतायुक्त र सभ्य नगर निर्माण गर्ने उदेश्यले अन्तरघुलन कार्यक्रम सुरुवात गरेको बताए।
उनले जातीय, लैंगिक तथा सबै प्रकारका भेदभाव अन्त्य गर्न कार्यक्रम गरेकाे बताए । उनले विगतमा सहभोज जस्ता कार्यक्रम गरेर अन्तरघुलन हुँदै आएकोमा अब कानुनी तथा सामाजिक जागरण पैदा गर्न कार्यक्रम गरेको बताए ।
यस्तै वडा नं ७ का वडाअध्यक्ष देवि प्रसाद पंगेनीले सामाजिक संरचनाका कारण अझै पनि जातीय विभेद भइरहेकाले यसको अन्त्यका लागि सचेतना जगाउन अन्तरघुलन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले कानुनी रुपमा जातीय भेदभाव गरेमा कारवाही हुने भन्दै टोल विकास समिति तथा आमा समूहका अगुवाहरुले विभेदमुक्त नगर बनाउन भूमिका खेल्न आग्रह गरे ।
यस्तै अर्का कार्यपालिका सदस्य तथा सुशासन समितिका संयोजक राधा शाहीले समाजमा महिला र पुरुष मात्रै जात भएको भन्दै नगरपालिकाले अब विभेद रहित समाज निर्माणका लागि कार्यक्रम सुरु गरेको बताईन । सामुदायिक जागरण विकास मञ्चको व्यवस्थापनमा भएको कार्यक्रम आगामि जेठ १५ भित्र ५ वटा वडामा चल्नेछ।
टोल विकास समिति, आमा समूह तथा समाजका अगुवाहरुको उपस्थितीमा जातीय सामाजिक समावेशिकरण तथा जातीय अन्तरघुलन कार्यक्रम गरिने मञ्चका अध्यक्ष रामबहादुर विकले बताए । पहिलो दिन सामाजिक समावेशकिरण, जातीय भेदभाव र वर्तमान अवस्था बिषयमा पत्रकार विनोद परियारले प्रस्तुतीकरण राखेका थिए । कार्यक्रमको सञ्चालन बुद्धि विश्वकर्माले गरेका थिए ।

