बुटवल - व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट गरेका हुन् ।
राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोष सभामा परिणत भएको छ ।
प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाका सुकुम्बासी सहभागी छन् । सरकारले विकल्पविना गरिब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।
सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका झण्डै १२ लाखभन्दा बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको पौडेलको भनाइ छ ।

