Lumbini Rise
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा

काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो।

विगत केही वर्षदेखि नसा र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने एट्रोफी (Atrophy) सम्बन्धी रोगबाट पीडित महराले नियमित उपचार, थेरापी र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएका कारण यो निर्णय लिनुपरेको वक्तव्यमा उल्लेख गर्नुभएको छ।

स्वास्थ्य अवस्थाका कारण विगतमा जस्तो सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले पार्टीका नियमित गतिविधिमा योगदान दिन कठिन हुँदै गएको उहाँले बताउनुभएको छ।

महराले वक्तव्यमा भन्नुभएको छ:

"यसै यथार्थलाई आत्मसात गर्दै, निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो।"

४८ वर्ष लामो राजनीतिक यात्रा

विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सहभागी रहँदै आउनुभएका महराले आफ्नो राजनीतिक यात्राका क्रममा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाल कम्युनिस्ट पार्टीसम्म आइपुग्दा आफ्नो क्षमता, समय र जीवनको महत्त्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको स्मरण गर्नुभएको छ।

देश र जनताप्रतिको प्रतिबद्धता कायमै

पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू सधैँ इमानदार र प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने दृढता व्यक्त गर्नुभएको छ।

साथै, नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै युवाहरूको सफलतामा नै आफ्नो पुस्ताको संघर्षको सार्थकता रहने उहाँले उल्लेख गर्नुभएको छ।

वक्तव्यको अन्त्यमा नेता महराले आफ्नो लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।

11-(2)-1781782108.jpg


 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update