बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ ।
ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मेयर पाण्डेयले मुस्तफा मस्जिद बुटवलको पुरानो समिति रहेको बताउँदै विभिन्न सामाजिक कार्य गर्दै अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । गौशाला बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालन रहेको बताउँदै उहाँले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
रजा-ए-मुस्तफा मस्जिद समितिका अध्यक्ष हाजी अब्दुल सहमत मियाले नयाँ वर्षको अवसरमा पारेर समितिले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले गौशालामा झण्डै ५० हजार बराबरको गाईवस्तुलाई आवश्यक पर्ने खाद्यवस्तु हस्तान्तरण गरेको बताउनुभयो । आगामी दिनमा पनि सामाजिक क्षेत्रमा काम गर्दै जाने मियाको भनाइ थियो ।

