Lumbini Rise
रुपन्देहीको शुद्धोधनमा सुनको सिक्री थुत्ने गिरोहका ५ जना पक्राउ

बुटवल - रुपन्देहीको शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। गएको श्रावण ९ गते शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो।

घटना लगत्तै प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गाडीसमेत प्रयोग गरी सिक्री थुत्ने कार्यमा संलग्न गिरोहलाई जिल्लाका विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रुपन्देहीको सिद्धार्थनगर-११ का ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगंज-२० का २८ वर्षीय राजन राय, वीरगंज-१६ का २१ वर्षीय अमन राय, सोही स्थानका एक नाबालिग (सांकेतिक नाम भैरहवा-१) र भारतको बिहार, मोतिपुरका ४० वर्षीय मोहम्मद इमाम रहेका छन्।

प्रहरीले उनीहरूकाे साथबाट सुनको जस्तो देखिने १ थान सिक्री, ४ थान मोबाइल फोन र घटनामा प्रयोग गरिएको बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडी समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update