Lumbini Rise
बुटवलमा नागरिक समाजको सद्भाव र्‍याली


बुटवल - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजले विहिबार बुटवलमा सद्भाव र्‍याली निकालेका छन् । 

सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्‍याली निकालिएको हो । 

र्‍यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा,कानून व्यवसायी लगायतको बाक्लो सहभागिता थियो ।  राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता विरेन्द्र बिक, मानव अधिकारकर्मी गोविन्द खनाल लगायतको अगुवाईमा सद््भाव र्‍याली भएको हो । 

सद््भाव र्‍यालीमा सदियौं देखि नेपालमा कायम सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई खल्बलिन नदिन र थप सुदृढ बनाउन र्‍यालीमा सहभागी सबै पक्षलाई अपील गरिएको छ । सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु र सुरक्षाकर्मीसहित २० जना बढी घाइते भएका थिए ।

र्‍यालीपछि सामाजिक अभियान्ता विरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यम सबैले उच्च जिम्मेवारीका साथ संयमता अपनाउन र सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप बलियो बनाउनुपर्ने अहिले सबै नागरिकको पहिलो जिम्मेवारी  भएको विकले बताए । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update